दत्त र लिभेन्टको शानदार प्रदर्शनमा नेदरल्यान्ड्सको जित

२०८० फाल्गुन ७, सोमबार १४:१०

काठमाडौं । नेदरल्यान्ड्सले स्पिनर आर्यान दत्तको कीर्तिमानी बलिङ र ओपनर माइकल लिभेन्टको शानदार प्रदर्शनको सहयोगमा नामिबियालाई पराजित गरेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको विश्वकप लिग टू को अन्तर्गतको सिरिजमा नामिबियामाथि नेदरल्यान्ड्सले ७ विकेटको जित हात पारेको छ ।

नामिबियाले दिएको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि ओपनर लिभेन्टले ८१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । दोस्रो ओडिआई खेलमा करियरकाे पहिलाे अर्धशतक बनाएका हुन् ।

अर्का ओपनर म्याक्स ओ डाउडले ४२ बलमा २८ रन बनाए । बास डि लिडे २१ रनमा अविजित रहे ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३५ दशमलब १ ओभरमा अल आउट हुदै १ सय २३ रन बनायो ।

नामिबियाका लागि अलराउन्डर जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । आठौं विकेटका रुपमा स्मिथ म्याक्स ओ डाउडको बलमा आउट भएका थिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । विकेटकिपर जान ग्रिनले २९ बलमा ३ चौकाको सहयोगमा १९ रन बनाए । जान फ्रायलिंक र निकोलस डेभिनले समान १३/१३ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यान दत्तले ९ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिए । नेदरल्यान्ड्सका लागि ओडिआई ईतिहासको यो नै उत्कुष्ट बलिङ फिगर हो । यस अघि टिम भानले २०१३ अगस्ट २९ मा क्यानडाविरुद्ध ९ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए । शनिबार नेपालविरुद्धको खेलमा दत्तले ३ ओभरमा ४४ रन खर्चिएका थिए ।

नेदरल्यान्ड्सकाे जितसँगै विश्वकप लिग टू काे अंक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएकाे छ । नेपाल सिरिजको तेस्रो खेलमा बुधबार नामिबियाविरुद्ध खेल्दैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy