क्यानडामाथि नेपालको जित, सिरिज बराबरी

२०८० फाल्गुन ८, मंगलवार १६:५५

काठमाडौं । क्यानडा ११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ए ले जित हात पारेको छ । जितसँगै नेपालले सिरिजमा १-१ को बराबरी गरेको छ ।

मुलपानी मैदानमा जारी खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको छ । क्यानडा-११ ले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ४९ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान सन्दीप जोराले ७४ बलमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । राशिद खानले ५१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४७ रनको ईनिङ खेले । अर्जुन कुमालले ६४ बलमा ४० तथा बसिर अहमदले ७२ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले । बसिरले पहिलो खेलमा पनि अर्धशतक बनाएका थिए । राशिद र बसिरले छैटौं विकेटका लागि ७७ रनको साझेदारी गरे ।

क्यानडा ११ का लागि अमर खलिद, साहिद अशमदजाई र निशिल दत्तले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा ११ ले ४९ दशमलब ५ ओभरमा अल आउट हुदै २ सय ४० रन बनाएको थियो ।

क्यानडा ११ का लागि श्रेयस मोभ्भाले ८२ बलमा ५ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । नवनित धालीवालले ६० बलमा ४६ रन बनाए । धालीवाल र मोभ्भाले चौथो विकेटका लागि ६६ रनको साझेदारी गरे । विकेट किपर श्रीमन्था विजयरत्नेले ५७ बलमा ६१ रन बनाए । ओपनर आरोन जोनसनले ३८ बलमा ३६ रन बनाए । पहिलो विकेटका जोनसन र विजयरत्नेले ६४ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि साहब आलमले ३ तथा शेर मल्लले २ विकेट लिए । राशिद खान, रिजन ढकाल र बसिर अहमदले समान १/१ विकेट लिए ।

पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपालले यो खेल जितेर सिरिज बराबरी गरेको छ । तेस्रो खेल अगामी बिहिबार हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy