काठमाडौं । नेपालका ओपनर ब्याटर आशिफ शेखले कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । नेपालबाट ४८ औं ओडिआई खेल खेलिरहेका शेखले १२ औं अर्धशतक पूरा गरेका हुन् ।
आशिफले ५५ बलमा ८ चाैका र १ छक्का सहित कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल ९ अर्धशतकका साथ रहेका छन् ।
त्यसअघि पहिलो विकेटका रुपमा नेपालले सातौ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी बेर्नाड स्कोट्जेको बलमा १८ रन बनाउँदै आउट भएका थिए । एलबीडब्लु धरापमा परेका भुर्तेलले १६ बल खेलेका थिए ।
भुर्तेल आउट भएसँगै क्रिजमा उत्रिएका अनिलकुमार शाह शून्य रनमा नै आउट भए । उनले २ बलको सामना गरेका थिए । नेपालले तेस्रो विकेटका रुपमा आठौं ओभरको अन्तिम बलमा ज्याक ब्राससेलको बलमा आउट भए । शून्य रनमा आउट भएका खनाल विकेटकिपर जान ग्रिनको हातबाट क्याच आउट भएका थिए ।