काठमाडौं । नेपाली टोलीले टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान साढे ११ मा टियु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।
नेपालले जुनमा हुने टी-ट्वान्टी विश्वकपको तयारीको सुरुआतको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।
मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच टी-ट्वान्टी आई मा नेपालले तीन खेलमा जित हात पार्दा एकमा हार व्यहोरेको छ ।
सिरिजको तेस्रो खेलमा २९ फेब्रुअरी अर्थात फागुन १७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् । नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा १ मार्च अर्थात फागुन १८ मा नामिबियासँग खेल्नेछ । २ मार्चमा अर्थात फागुन १९ मा नेदरल्याण्ड्स खेल्दा नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।
समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।
नेपाली टोली:
रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।
