काठमाडौं । अलराउन्डर कुशल मल्लको विष्फोटक अर्धशतकको सहयोगमा नामिबियालाई पराजित गरि काठमाडौंमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजमा नेपाल फाइनल नजिक पुगेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गर्यो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
नामिबियाका लागि कप्तान जेजे स्मिथले २६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाए लगत्तै स्मिथ दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । करियरको तेस्रो अर्धशतक स्मिथले २५ बलमा पूरा गरे । चौथो विकेटका लागि स्मिथ र जाय फ्रायलिंकले ८३ रनको साझेदारी गरे । जायले २९ बलमा १ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । १७ औं ओभरको पहिलो बलमा अभिनाश बोहोराले फ्रायलिंकलाई आउट गराए ।
१६ औं ओभरमा दीपेन्द्र सिंह ऐरीले लगातार दुई विकेट लिएसँगै नेपाल खेलमा फर्किएको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ३७ बलमा १ चौका र ४ छक्काको सहयोग ५५ रनको अर्धशतकीय ईनिङ खेले । आफ्नो करियरको चौथो अर्धशतक मल्लले ३० बलमा पूरा गरे । मल्ल र आरिफ शेखले ८५ रनको साझेदारी गरे । शेखले २४ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । १७ औं ओभरको तेस्रो बलमा शेख आउट भएका थिए ।
गुलसन झाले १६ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । झा आठौं ओभरको दोस्रो बलमा बेननार्ड स्कोट्जेद्वारा आउट भए ।
अनिल शाहले १७ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए । कप्तान रोहित पौडेलले ९ बलमा १० रन बनाए । दोस्रो विकेटका रुपमा कप्तान पौडेल ब्रासेलले आउट गराए । आज मात्र ज्याकले टी-ट्वान्टी आई डेब्यु गरेका थिए ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई दोस्रो ओभरको पहिलो बलमा गुमाएको थियो । शेख बेन सिकोन्गोको बलमा बोल्ड आउट भएका थिए ।
नामिबियाका लागि बेन सिकोन्गोले ३ तथा ज्याक ब्रासेलले २ विकेट लिए । नेपालले अन्तिम ५ ओभरमा ४४ रन बनाउँदा ४ विकेट गुमायो । जितका साथ नेपालले फाइनल सम्भावना कायमै राखेको छ ।