काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपमा सहभागीता जनाउन लागेको नेपाली क्रिकेट टोलीको तयारीका लागि ५ करोड रुपैयाँ पाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै यसका लागि प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्।
विश्वकपमा पुगेपछि नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा भएको भन्दै अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए ।
नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउदै नेपालले आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपका लागि छनोट भएको थियो ।
