काठमाडौं । हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई जितका लागि १ सय ९९ रनको लक्ष्य दिएको छ ।
हङकङको मिसन रोड ग्राउन्डमा हारेर पहिले पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । करियरको आठौं अर्धशतक कुशलले ३२ बलमा पूरा गरे । ५१ रन बनाएसँगै कुशलले टी-ट्वान्टी आईमा १ हजार रन पूरा गरे । नेपालका लागि १ हजार रन पूरा गर्ने कुशल दोस्रा खेलाडी हुन् । यस अघि दीपेन्द्रसिंह ऐरीले मात्र १ हजार रन पूरा गरेका थिए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । टी-ट्वान्टी करियरको दोस्रो अर्धशतक जोराले २१ बलमा पूरा गरे ।
अर्का ओपनर विनोद भन्डारीले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । गुलसन झाले १२ बलमा अविजित १५ रन बनाए । लोकेश बमले ६ बलमा २ छक्काको सहयोगमा १३ रन बनाए । विवेक यादव १९ रनमा अविजित रहे । विवेकले अन्तिम ओभरमा ३ छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा नेपालले २१ रन बनाएको थियो ।
पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए ।
