कुशलको अलराउन्ड प्रदर्शनमा नेपालले पीएनजीलाई हरायो, नेपाल फाइनलमा

२०८० फाल्गुन २९, मंगलवार ०९:५३

काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनको सहयोगमा पपुवा न्युगिनी(पीएनजी) लाई हराउँदै नेपाल हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

हङकङको मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपाल ८५ रनको फराकिलो अन्तरमा विजयी भएको हो ।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलब १ ओभरमा १ सय १३ रन बनाउँदै अल आउट भयो ।

पीएनजीका लागि हिरि हिरिले १९ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । ओपनर सेसे बाउले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । अर्का ओपनर टोनी उराले ६ बलमा १३ तथा नोसाना पोकनाले १० बलमा १२ रन बनाए । पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोडेन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए । प्रतिश जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । करियरको आठौं अर्धशतक कुशलले ३२ बलमा पूरा गरे । ५१ रन बनाएसँगै कुशलले टी-ट्वान्टी आईमा १ हजार रन पूरा गरे । नेपालका लागि १ हजार रन पूरा गर्ने कुशल दोस्रा खेलाडी हुन् । यस अघि दीपेन्द्रसिंह ऐरीले मात्र १ हजार रन पूरा गरेका थिए । नेपालका लागि ओडिआई र टी-ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने भुर्तेल पहिलो खेलाडी हुन् ।

सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । टी-ट्वान्टी करियरको दोस्रो अर्धशतक जोराले २१ बलमा पूरा गरे ।

अर्का ओपनर विनोद भन्डारीले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । गुलसन झाले १२ बलमा अविजित १५ रन बनाए । लोकेश बमले ६ बलमा २ छक्काको सहयोगमा १३ रन बनाए । विवेक यादव १९ रनमा अविजित रहे । विवेकले अन्तिम ओभरमा ३ छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा नेपालले २१ रन बनाएको थियो ।

पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा आज नै पीएनजी र हङकङ खेल्दै छन् । यस खेलको विजेतासँग नेपालले बुधबार फाइनल खेल खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy