लखनाउको पहिलो जित, पन्जाबको लगातार दोस्रो हार

२०८० चैत्र १८, आईतवार ०७:०४

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई पराजित गरेको हो ।

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा लखनउले पन्जाबलाई २१ रनले पराजित गर्यो ।

लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो।

पञ्जाबका लागि कप्तान शिखर धवानले ७० रनको अर्धशतकीय पारी खेले। उनले आउट हुनु अघि ५० बलमा ७ चौका र ३ छक्का प्रहार गरेका थिए।

जोनी बेयरस्टो २९ बलमा समान ३ चौका र छक्काको सहयोगमा ४२ रन बनाए। लियाम लिभिङस्टोन २८ रनमा अविजित रहे। प्रभसिमरन सिंहले १९ रन बनाए भने अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

लखनाउका लागि मयंक यादवले ३ तथा मोहसिन खानले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

लखनउका क्विन्टन डि ककले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । क्रुणाल पाण्ड्याले २२ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४३ रन बनाए ।

निकोलस पूरनले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ तथा मार्कस स्टोईनसले १९ रन बनाए ।

पञ्जाबका साम करनले ३ तथा अर्शदीप सिंहले २ विकेट लिए । कगिसो रबाडा र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।

योसँगै जारी सिजनमा लखनाउले पहिलो जित हासिल गरेको छ। २ खेलमा २ अंकका साथ लखनाउ पाँचौ स्थानमा उक्लिएको छ। पराजित पञ्जाब भने ३ खेलबाट २ अंकसहित छैटौँ स्थानमा झरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy