काठमाडौं । नेपाली ब्याटरहरु चल्न नसक्दा तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्यान्ड वल्भ्ससँग नेपाल ए पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा नेपाल ए १ सय १४ रनले पराजित भयो ।
आयरल्यान्डले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलब ५ ओभरमा अल आउट हुदै ६० रन मात्र बनायो ।
नेपालका लागि कप्तान विनोद भण्डारी र भीम सार्कीले मात्र दोहोरो अंकमा रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ४ ओभरमा अल आउट हुदै १ सय ७४ रन मात्र बनाउँन सक्यो ।
आयरल्यान्डका लागि गोभिन होयले ५९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निल रकले ३८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४५ रन हुनेछ । रक र होयले सातौं विकेटका लागि ४४ रनको साझेदारी गरेर खेलमा फर्कन सम्भावना देखाए पनि कप्तान रक ४५ रनमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।
होय र लियम म्याकार्थीले आठौं विकेटका लागि ५४ रनको साझेदारी गरे । म्याकार्थीले ५४ बलमा ३५ रन बनाए । माथिल्लो क्रमका ब्याटरले रन बनाउँन नसके पनि तल्ला क्रमका ब्याटरले टिमलाई सम्मानजनक योगफल सम्म पुर्याए ।
पीजे मोरले १७ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाए ।
आयरल्यान्ड वल्भ्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि साहब आलम र रिजन ढकालले ३/३ तथा मौषम ढकालले २ विकेट लिए । कमलसिंह ऐरी १ विकेट लिए ।
