प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

२०८१ माघ २, बुधबार १७:३०

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रनमै समेटियो।

लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि रेवाती धामीले तीन, आशिका महराले दुई तथा कविता कुँवर,करिश्मा थापा, ऋतु कनौजिया र जानकी थापाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कविता कुँवरले ३३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान दिइन्। यसैगरी मनिषा बोहराले २३ र ऋतु कनौजियाले अविजित १८ रन बनाए।

लुम्बिनीका लागि सरस्वती पुनले तीन तथा सम्झना मगर र मधु डिसीले समान एक विकेट लिए।

जितसँगै सुदूरपश्चिमले दुई खेलमा चार अंक जोडेको छ। लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy