यहाँ अन्तर्राष्ट्रिय क्रिकेट भएमा लुम्बिनी र गौतमबुद्धको प्रचार–प्रसार संसारभरी आफै हुनेछ : प्रशान्त बिक्रम मल्ल ( अन्तर्वार्ता )

prashant bikram malla

वि.सं.२०५१ सालमा धनगढीमा भएको नवौं राष्ट्रिय क्रिकेट खेल प्रतियोगिताबाट राष्ट्रिय खेलमा सहभागिता जनाएका प्रशान्त विक्रम मल्ल ८ वर्षको उमेरदेखि क्रिकेट खेलमा लगाब राख्ने गरेको बताउँछन् । ५ पटकसम्म राष्ट्रिय खेल खेलेका उनले नवौं राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक, २०५४ सालमा काठमाडौं भएको सिर्जनशील ट्रफीमा उत्कृष्ट खेलाडी, २०५५ सालमा भएको सिद्धार्थ कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका थिए । थुप्रै स्थानीय, जिल्लास्तरी, क्षेत्रीयस्तरीय खेल समेत खेलका उनी २०५८ सालदेखि क्रिकेट खेल जीवनबाट सन्यास लिई रूपन्देही क्रिकेट संघको स्थापनार्थ संस्थापक मध्येका एक सदस्य हुन् । हाल रूपन्देही क्रिकेट संघको अध्यक्ष, क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ४ को अध्यक्ष तथा नेपाल क्रिकेट संघको केन्द्रिय सदस्य समेत रहेका मल्ल तीन कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् । प्रस्तुत छ यिनै क्रिकेटर मल्लसँग क्रिकेटको वर्तमान अवस्था, सम्भावना, चुनौती र सिद्धार्थ रंगशालाको अवस्था लगायत विविध विषयमा रहेर प्रकाश न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।


रूपन्देहीमा क्रिकेट खेलको अवस्था कस्तो छ ?

रूपन्देहीको क्रिकेट खेल नेपालमै अब्बल छ । जिल्लामा क्रिकेट खेलको गतिविधिको हिसाबले तथा खेलाडीको अन्तर्राष्ट्रिय सहभागिताको हिसाबले पनि हामी सबैभन्दा अगाडि छौं । रूपन्देही क्रिकेट संघ नेपालकै सबैभन्दा क्रियाशील जिल्ला हो । जसले गर्दा यहाँबाट खेलाडी उत्पादन धेरै भइरहेका छन् । नेपालको राष्ट्रिय टोलीमा रूपन्देहीबाट मात्रै ४ जना खेलाडी सहभागी छन् भने अन्डर–१९ मा ३ जना खेलाडी यसै जिल्लाबाट समावेश रहेका छन् । यसले गर्दा रूपन्देहीको क्रिकेट क्षेत्र राम्रो भएको मान्न सकिन्छ ।

रूपन्देहीमा क्रिकेट विकासको समस्या के छ ?

जिल्लामा क्रिकेट खेलको विकासमा त्यति समस्या नभए पनि नेपाल क्रिकेट संघ भित्रको आन्तरिक विवादका कारणले राष्ट्रिय प्रतियोगिताहरू नहुँदा खेलाडीहरूले राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने मौका पाइरहेका छैनन् । त्यसले गर्दा खेलाडीहरूको बृद्धि विकासमा असर परिरहेको मैले पाएको छु । तर रूपन्देहीमा त्यो समस्या नभएका कारण यहाँको क्रिकेट क्षेत्रको विकास भने राम्रो छ ।

क्रिकेटप्रति खेलाडीलाई आकर्षित गर्न के गरिरहनु भएको छ ?

हामीले जिल्लामा एथेष्ट क्रिकेट प्रतियोगिता संचालन गरिरहेका छौं । जिल्लाको हरेक क्षेत्रमा हुने प्रतियोगितामा रूपन्देही क्रिकेट संघले थोरधेर सहयोग गरिरहेको छ । केही समय अगािड १२ वटा क्लब पनि नपुग्ने जिल्लामा हालको प्रतियोगितामा १९ वटा क्लबले भाग लिइरहेका छन् । कतिपय क्लबहरूलाई उनीहरूको स्तर बृद्धिका लागि प्रेरणा दिइरहेका छौं । ता की उनीहरू पनि रूपन्देही जिल्लाको क्रिकेटको मूल धारमा आउन सकुन् ।

सिद्धार्थ रंगशालाको स्तरबृद्धिको काम कसरी अगाडि बढेको छ ?

हालसम्म तीन चरणको काम सम्पन्न भइसकेको छ । जसमा एक करोड १९ लाखको लागतमा अत्याधुनिक भवन निर्माण भइसकेको छ । ८९ लाखको बजेटमा मैदान समथर गराउने र घाँस रोप्ने काम पनि सम्पन्न भएको छ । त्यस्तै ४० लाखको बजेटमा फेन्स (मैदान घेर्ने) काम सम्पन्न भएको छ भने रूपन्देही क्रिकेट संघले आफ्नै लगानीमा ३ वटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच ९ लाखको बजेटमा बनाइरहेको छ । जसको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यो आर्थिक वर्षको बजेटमा स्तरोन्नतीका लागि एक करोड २० लाख छुट्याइएको छ भने बृहत् मास्टर प्लान अन्तर्गत पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रंगशाला निर्माणका लागि अरनिको डिजायनर्स काठमाडौंले डिजाइनको काम पनि सम्पन्न गरिसकेको छ । जसको विस्तृत अध्धयन परियोजना अनुसारको रकम खेलकुद मन्त्रालयले छुट्याउने छ । त्यो निर्माण सुरू भएमा सिद्धार्थ रंगशाला नेपालकै उत्कृष्ट नमूना क्रिकेट मैदानमा रूपान्तरण हुनेछ ।

सिद्धार्थ रंगशाला

 

के सिद्धार्थ रंगशाला अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ला ?

सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रियस्तरकै क्रिकेट मैदान बनाउनका लागि रूपन्देही क्रिकेट संघले चौतर्फी पहल गरिरहेको छ । यो मैदान अन्तर्राष्ट्रियस्तरको बन्ने सम्भावना किन पनि छ भने यहाँ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएमा यसले लुम्बिनी र गौतमबुद्धको प्रचार–प्रसार संसारभरी आफै हुनेछ। यो विषयमा मैले सबै दलका राष्ट्रियस्तरका नेताहरूलाई पनि सम्झाई रहेको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ । बाँकी अन्तर्राष्ट्रिय मैदानका लागि चाहिने पाँच तारे होटल तथा अन्तर्राष्ट्रियस्तरको हवाई मैदान पनि निर्माणको क्रममा रहेको हुनाले काठमाडौं पछिको दोस्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नेमा म विश्वस्त छु ।

सिद्धार्थ रंगशालालाई प्रदर्शनीस्थल बनाउने कुरा पनि आइरहेको छ । यदि यसो भयो भने क्रिकेट संघको भूमिका के रहन्छ ?

यो कुरा कुनै बेला कुनै समूहबाट उठाइएको हो । तर अहिले यो कुराको कुनै सम्भावना नभएकाले मैले, मेरो संघले र रूपन्देहीका क्रिकेट प्रेमीहरूले कुनै चिन्ता लिनुपर्ने आवश्यकता म देख्दैन ।

पछिल्लो समय नेपालको क्रिकेट खेल खस्केकोे भनिन्छ नी ?

मलाई त्यस्तो लाग्दैन । हालैको प्रदर्शनहरूलाई हेर्दा पनि नेपालको क्रिकेट खेल उत्कृष्ट रहेको छ । बंगलादेशमा भएको यु–१९ विश्वकपमा नेपाल उत्कृष्ट ८ मा पर्न सफल भएको थियो । त्यस्तै श्रीलंकामा भएको यु–१९ एशिया कपमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो भने राष्ट्रिय टोलीले पनि काठमाडौंमा भएको खेलमा नामिवियालाई दुवै खेलमा पराजित गरेको थियो । तर व्यवस्थापकीय हिसाबले नेपालको स्तर खस्किएको चाहिँ हो । नेपाललाई आइसिसीले आन्तरिक विवादका कारण प्रतिबन्द लगाएको छ । जसले गर्दा राष्ट्रियस्तरको प्रतियोगिता भएको छैन । यही स्थिति रहीरह्यो भने स्तर नखस्केला भन्न सकिँदैन ।

पटक–पटक हुने क्यानको विवादले नेपाली क्रिकेट धरासायी बन्ने चौतर्फी चिन्ता छ नी ?

अवश्यक पनि राजनीतिक हस्तक्षेप रहिरह्यो भने नेपालको क्रिकेट खेल मात्रै नभई अन्य सबै खेल क्षेत्र धरासायी हुनेमा दुईमत छैन । खेलकुद क्षेत्र खेलकुदकै विज्ञहरूलाई चलाउन दिनुपर्छ भन्ने बुझ्न जरूरी छ, राजनीतिक नेतृत्वले । आज हरेक क्षेत्रमा राजनीतिक भागबन्डा भएको हुँदा हरेक क्षेत्रको स्थिति दयनीय छ । र, क्रिकेट खेलमा पनि राजनीति हाबी भएकोले आज सम्भावना बोकेको क्रिकेट खेलको स्थिति पनि धरासायी भएको छ ।

तपाईँलाई मन पर्ने नेपाली खेलाडी ?

मलाई मनपर्ने खेलाडी शक्ति गौचन र बसन्त रेग्मी हुन् । उनीहरू यसै जिल्लाका खेलाडी हुन् र विगत लामो समयदेखि अन्तर्राष्ट्रियस्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

रूपन्देहीको क्रिकेट विकासमा तपाईंको सपना के छ ?

सबैभन्दा पहिला त म यहाँ एउटा अन्र्राष्ट्रियस्तरको क्रिकेट मैदान भएको हेर्न चाहन्छु । त्यस्तै रूपन्देही क्रिकेट संघलाई आर्थिक रूपमा सम्पन्न क्रिकेट संघ बनाउने लक्ष्य रहेको छ । जसको कारणले क्रिकेट संघले जिल्लामा प्रतियोगिता गर्नमा कुनै कठिनाई भोग्न नपरोस् । यसका लागि कोष बृद्धिको कार्यक्रम संचालन गरिरहेको छु । र, केही समयमै रूपन्देही क्रिकेट संघ आर्थिक रूपमा सबल हुनेछ । जसले गर्दा आगामी दिनमा जिल्लामा हुने पुरूष तथा महिला क्रिकेट प्रतियोगिता, उमेर समूहका क्रिकेट प्रतियोगिता, स्कूलस्तरीय र कलेज स्तरीय प्रतियोगिताहरूलाई निरन्तरता दिन सजिलो हुनेछ । साथासाथै यहाँबाट उत्पादन हुने खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दरिलो उपस्थिति जनाउन यस्ता किसिमका प्रतियोगिताहरूले मद्धत पुग्ने मैले विश्वास लिएको छु ।

खेल संचालन गर्न खर्च कसरी जुटाउनु भएको छ ?

कुनैबेला हामीहरू आफैले पनि गोजीबाट खर्च गर्नु पर्ने अवस्था रहेको थियो । तर अहिले जिल्ला क्रिकेट संघसँग थुप्रै प्रायोजकहरू रहेका छन् । जिल्ला विकास समितिले पनि सहयोग पुर्याइरहेको छ । त्यस्तै देश–विदेशमा रहेका जिल्लाका क्रिकेट प्रेमीहरूबाट पनि सहयोग जुटिरहेको छ ।

क्रिकेट खेलमा आउन चाहने खेलाडीको भविष्य के छ ?

तत्कालका लागि राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरूका लागि रोजगारीको समस्या रहेको छैन । आज खेलाडीहरू नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न बैंकहरू तथा स्कूल–केलजहरूमा रोजगारी पाइरहेका छन् । जसले गर्दा उनीहरू खेललाई निरन्तरता दिँदै आर्थिक रूपमा पनि सबल भइरहेका छन् । हाम्रै जिल्लाका १० भन्दा बढी खेलाडीहरू विभागीय टोलीका कमर्चारी भई राष्ट्रियस्तरका खेल खेलीरहेका छन् । त्यसैले राम्रो खेलाडीको भविष्य उज्ज्वल रहेको म महसुस गर्दछु ।

अहिले जिल्लास्तरीय सुपर लिग चलिरहेको छ । यसको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

यस प्रतियोगिताको मुख्य प्रायोजक नेपाल टेलिकम रहेको छ भने सहप्रायोजक बुम रेमिटको रहेको छ । त्यस्तै जिल्ला विकास समितिबाट पनि राम्रो सहयोग प्राप्त भएको छ भने जिल्लाका अन्य औद्योगिक घरानाहरूले पनि प्रायोजन गरिरहेका छन् । जसले गर्दा व्यवस्थापकीय कठिनाई भोग्नु परेको छैन ।

प्रसंग बदलौ, अहिले भैरहवामा सानको आयोजना र रूपन्देही क्रिकेट संघको सहआयोजनामा मेला हुँदैछ । क्रिकेट संघ सहआयोजक बन्नुको कारण के ?

विगत लामो समयदेखि क्रिकेट मैदानमै मेला भइरहेको अवस्थामा अहिले त्यो सम्भव नभएकोले मैदान अभावको कारणले मेला संचालन नहुने स्थिति आयो । त्यसपछि हामीले सिद्धार्थ होटल एशोसिएसन नेपाल (सान)सँग मिलेर क्रिकेट खेलको विकास र प्रचार–प्रसारका लागि पनि रूपन्देही क्रिकेट संघ सहआयोजक भएर मेलामा सहभागी जनाएको हो । र, मेला आर्थिक रूपमा नाफामा गएमा त्यसबाट आएको पैसा क्रिकेट खेलको विकासमा लगाउने निर्णय गरिएकाले पनि हामी सहआयोजक बनेका हौं ।

रूपन्देहीको क्रिकेट विकासमा महोत्सवको भूमिका के रहन्छ ?

मैले माथि नै भनिसकेँ । महोत्सवबाट हुने फाइदाको केही रकम हामीले क्रिकेट मैदान र क्रिकेटको विकासमा लगाउने भएका कारणले पनि यो महोत्सवले क्रिकेट विकासमा ठूलो भूमिका खेल्छ भन्ने मलाई लागेको छ ।

( अब्बल साप्ताहिकमा माघ २४ गते प्रकासित )

 

यो पनि पढ्नुस : 

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]