धन्यवाद ! शक्ति

Shakti Gauchan

पातलो ज्यान, चाउरी परेको अनुहार, अनुहार माथिको हासो अनि जतासुकै बुर्कुसी मार्ने सक्ने हल्का शरीर। दर्शक र शुभेच्छुकमा परेको शक्तिको छाप। कलिलो उमेरमा खेल शुरु गर्दा शक्ति जति छरितो थिए, त्यसलाई दुई दशकसम्म पनि धर्मराउन दिएनन्। नेपाली क्रिकेट टोलीका सफल बलर मानिने शक्तिले गत जुलाईमा नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पाँच महिना नबित्दै उनले घरेलु क्रिकेटबाट पनि सन्यास लिएका छन्। शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट जीवनबाट सन्यास लिसकेपछि दुई घरेलु टी-२० लिग खेले । उनले पोखरामा भएको पोखरा प्रिमियर लिग र काठमाडौँमा भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग खेले। इपीएलपछि उनले घरेलु लिगबाट पनि सन्यास लिएका हुन्।

कम रन दिएर धेरै विकेट लिन माहिर खेलाडीको उपमाले परिचित शक्ति गौचन नेपाली क्रिकेट समर्थकमाझ ‘शक्ति द पावर’को नामले चिनिन्छन्। नेपालले सन् २०१४ मा ‘टि ट्वान्टी विश्वकप’ खेल्दा कमेन्ट्री गरिरहेका पाकिस्तानी क्रिकेटर रमिज राजाले दिएको यो नाम शक्तिको अन्तर्राष्ट्रिय पहिचाननै बन्न पुग्यो।

Shakti Gauchan
Shakti Gauchan

२२ अप्रिल १९८४ मा रुपन्देहीमा जन्मिएका गौचनले सन् २००१ मा बंगलादेशमा भएको एसिसी कपबाट यु–१७ प्रतियोगितामार्फत नेपाली क्रिकेटमा ‘डेब्यु’ गरेका थिए।

“निकै कठिन थियो सिकाई अनि भोगाई”, शक्ति आफ्नो खेल जीवनका शुरुवाती दिनलाई सम्झिँदै भन्छन, “राम्रो खेल मैदान तथा खेल सामाग्रीको अभावबीच पनि कठिन मेहेनत गरियो अनि प्रतिफलमा राष्ट्रका लागि खेलकुद क्षेत्रमा केहि योगदान दिन सकियो।” शक्तिले भने।

रुपन्देहीमा जन्मिएका शक्तिलाई काठमाडौँमा आएर खेल खेल्नमा भने कुनै कठिन थिएन। राष्ट्रिय टोलीबाट खेलिने अन्तर्राष्ट्रिय खेलहरुमा भने उनि सँधैजसो परिरहे। राष्ट्रिय टोलीमा खेल्दा शक्तिलाई सहकर्मी खेलाडीहरुबाट कहिकतै पनि परिवारभन्दा बाहिर रहेको महशुस भएन। उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्-

“याद आउनेछन् ति १६ वर्षे लामो यात्राका सहयात्री तथा नेपाली क्रिकेट समर्थकहरु। मैले नेपाली राष्ट्रिय टोलीबाट क्रिकेट नखेलतापनि नेपाली राष्ट्रिय क्रिकेट टोली तथा नयाँ आउने खेलाडीहरुलाई सधैव साथ र सहयोग अनि हौसला यथावत रहने छ।”

उनको भविष्यमा पनि क्रिकेटको कुनै क्षेत्रमानै लागेर बिताउने तयारी छ। शक्तिले हालै नेपाली यु–१९ टोलीको टिम म्यानेजरको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। यस बाहेक शक्तिको समाज सेवा तिर लाग्ने योजना पनि छ। जिविकोपार्जनका लागि धरै प्रकारका कार्यहरु रहेतापनि समाज सेवामा जति आनन्द अन्य कार्यमा नहुने उनको भनाई छ।

आफु क्रिकेट क्षेत्र भन्दा टाढा रहन नसक्ने भएकाले आफ्नै एकेडेमीमा प्रशिक्षकको भुमिकामा रहने उनको योजना पनि रहेको उनले बताए। सथै क्रिकेट क्षेत्रको विकासको जिम्मेवारी पाए भने राम्रोसँग निभाउनले उनी बताउँछन्।

यु–१७ राष्ट्रिय टिम हुँदै हुँदै सिनियर टोलीमा स्थान बनाएका गौचनले आफ्नो क्रिकेट करिअरमा दुइ सय भन्दा बढी विकेट र दुइ हजार भन्दा बढी रन बनाए। अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी शक्ति गौचन सन्यास लिंदा टी–२० अन्तर्राष्ट्रिय वरियतामा ७७ औँ स्थानमा थिए।

टियु क्रिकेट मैदानमा आफ्नो अन्तिम खेल खेल्दा शक्तिले आफू हाँसिहाँसी सहकर्मी र लाखौँ दर्शकलाई रुवाएका थिए। नेपाली क्रिकेट टिमले नै ‘शक्ति’ मानेका ‘शक्ति’ नेपाली राष्ट्रिय क्रिकेटमा ४४ नम्बर जर्सीबाट बिदा भएका थिए। डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसीय मान्यता पाउँदासम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीका सारथी बनेका शक्तिले राष्ट्रिय टोलीका लागि महत्वपूर्ण भुमिका निर्वाह गरे।

३४ वर्षीय शक्तिले अब क्रिकेटमा ब्याटिङ र बलिङ गरेको हेर्न पाइने छैन तर उनले त्यस्तै काम गर्ने नयाँ खेलाडीहरु तयार पार्नका लागी फरक भूमिकामा देखिने बताइसकेका छन् । क्रिकेट करियरको अन्तिम खेलपछि चितवन र पोखराका खेलाडीहरुले शक्तिलाई गार्ड अफ अनर दिएका थिए । यस्तै शक्तिलाई बोकेर मैदान परिक्रमा गराएका थिए।

नेपाली क्रिकेट टोलीमा १६ वर्ष बिताएका शक्तिले सन् २००२ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । अब शक्तिविनाको क्रिकेट कैयौँ समय क्रिकेट खेलप्रेमीलाई नरमाईलो लाग्नेछ।

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]