सुबास खकुरेलको ९ उत्कृस्ट ब्याटिंग प्रदर्शन

Subash Khakurel

नेपालमै आयोजित सन् २०११ एसीसी टि-२० प्रतियोगितामा हंगकंग बिरुद्ध डेब्यु गरेका सुबास खकुरेलले आफूलाई नेपाली क्रिकेट इतिहासकै सफल ओपनरहरु मध्ये उभ्याए। १० वर्षे करियरमा दायाँ हाते ओपनरले नेपालको लागि कैयौं पटक म्याच विनिंग इनिंग खेले। यस क्रममा खकुरेलले विश्व क्रिकेट लिग डिभिजन-४ देखि विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा २०१४ टि-२० विश्वकप र विश्वकप लिग-२ मा नेपालको प्रतिनिधित्व गरे। आफ्नो करियरमा पूर्णत ओपनिंग ब्याटिंग गरेका खकुरेलले खेलेका ९ उत्कृस्ट इनिंगहरु यहाँ प्रस्तुत गरेका छौँ –

४० रन ( बिरुद्ध , कुवेत ) , २०११ एसीसी टि-२०, नेपाल 

नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेको प्रतियोगितामा खकुरेलले प्रभावित बनाउने क्रममा कुवेत बिरुद्ध महत्वपूर्ण ४० रन बनाएका थिए। नयाँ ओपनरको रुपमा टिममा आएका खकुरेलले अघिल्लो २ खेलमा हंगकंग र युएई बिरुद्ध ब्याट नचलेपछि आफुलाई प्रमाणित गर्ने दबाबमा उनले महत्वपूर्ण इनिंग खेल्दै नेपालको जितमा अहम योगदान दिएका थिए।

३२ बलमा उनले ८ चौका प्रहार गर्दै ४० रन बनाएका थिए भने पहिलो विकेटको लागि अनिल मण्डलसंग ४९ रनको साझेदारी समेत गरेका थिए। सोहि इनिंगको मद्दतले नेपालले २० ओभरमा १२६ रन बनाएको थियो। जवाफमा कुवेत १९.५ ओभरमा १२५ रनमा समेटिएको थियो र नेपालले १ रनको जित दर्ता गरेको थियो। विकेटकिपरको रुपमा खकुरेलले दोश्रो इनिंगमा २ वटा स्टम्पिंग समेत गरेका थिए।

११५ रन ( बिरुद्ध , अमेरिका ) , २०१२ डिभिजन-४, मलेसिया 

मलेसियामा सम्पन्न २०१२ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ प्रतियोगितामा खकुरेलले अमेरिका बिरुद्ध निकै महत्वपूर्ण खेलमा शतकीय योगदान दिएका थिए। टस जितेर ब्याटिंग गरेको नेपालले खकुरेलको ११५ रन मद्दतले ५० ओभरमा ८ विकेट गुमाएर २५८ रन बनाएको थियो। १४२ बलमा उनले १० चौका र २ छक्का प्रहार गरेका थिए जुन क्रममा ४८.२ ओभरसम्म विकेट सम्हालेका थिए। उक्त खेल नेपालले ३२ रनले जितेको थियो। खकुरेल उक्त खेलको प्लेयर अफ द म्याच चुनिएका थिए।

खकुरेलको उक्त शतक तत्कालिन समयमा नेपाली क्रिकेटरले सिमित ओभर क्रिकेटमा प्रहार गरेको चौथो शतक थियो। ११५ रन नेपाली खेलाडीले बनाएको सबैभन्दा ठुलो व्यक्तिगत योगफल समेत हो। पारस खड्काले ७ वर्षपछि २०१९ मा युएई बिरुद्ध ११५ रनको इनिंग खेल्दै सुबासको बराबरी गरेका थिए।

Subash Khakurel

५५ रन ( बिरुद्ध , युएई ) , २०१२ एसीसी ट्रफी फाइनल, युएई 

१९९६ देखि एसीसी ट्रफी खेल्ने क्रममा तेश्रो पटक फाइनल पुगेको नेपाली टिमसामु पहिलो उपाधि जित्ने मौका थियो। आयोजक युएई बिरुद्धको उक्त खेल बराबरीमा टुंगिए पछि नेपाल र युएईले संयुक्तरुपमा उपाधि बाँडेको थियो।

खेलमा युएईले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा खकुरेलले ७४ बलमा २ चौका र २ छक्का मद्दतले ५५ रन बनाएका थिए। यस क्रममा उनले अनिल मण्डलसंग ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। खकुरेल २५ औं ओभरमा क्रिजमा जम्दा नेपालले उपाधि जित्ने आधार तयार गरेको थियो।

७८ रन ( बिरुद्ध पाकिस्तान यु-२३ ) , एसीसी इमर्जिंग टिम्स कप २०१३ , सिंगापुर 

मोहम्मद नवाज, हम्माद आजम, राजा हसन, बिलावल भट्टी, एहसान आदील जस्ता हाल पाकिस्तानको लागि खेलीसकेका बलर बिरुद्ध खकुरेलले बनाएको ७८ रन उनको उत्कृस्ट इनिंग मध्ये गनिने गर्छ। ठुलो टिम बिरुद्ध नेपालको ब्याटिंग फ्लप हुँदा खकुरेलले ४२ औं ओभरसम्म एक किनार सम्हाल्दै नेपालको इज्जत ढाकेका थिए। १२७ बल खेल्दै उनले ९ चौका र १ छक्का प्रहार गरे। त्यसका बाबजुद उक्त खेल भने नेपालले सहजै हार्न पुग्यो। नेपाल टस हारेर पहिले ब्याटिंग गर्दै ५० ओभरमा १५६ रन बनाउन सक्यो। बाबर आजमले खेलमा अविजित शतक प्रहार गर्दा १५७ रनको लक्ष्य पाकिस्तान यु-२३ ले मात्र १ विकेट गुमाएर जित्यो।

Subash Khakurel

५४ रन ( बिरुद्ध , केन्या ) , २०१३ टि-२० विश्वकप छनौट , युएई

टि-२० विश्वकप छनौट प्रतियोगिता अन्तर्गत बलियो प्रतिद्वन्द्वी केन्यासंग समुह चरणको महत्वपूर्ण खेलमा नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो। केन्याले दिएको १८३ रनको विशाल लक्ष्य नेपालले ४ विकेट गुमाएर पछ्याएको थियो।

उक्त शानदार जितमा खकुरेलले ११ औं ओभरमा रनआउट हुनु अघि महत्वपूर्ण ५४ रन बनाएका थिए जुन क्रममा ४८ बलमा ६ चौका प्रहार गरेका थिए। अर्का ओपनर प्रदिप ऐरी छिट्टै आउट भएपछि उनले दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग ७७ रनको उत्कृस्ट साझेदारी गरेका थिए। ज्ञानेन्द्रको विकेटपछि तेश्रो विकेटको लागि उनले पारस खड्कासंग ४५ रनको साझेदारी गरे।

खकुरेलले १६ औं ओभरमा विकेट गुमाएपछि पारस खड्काले अविजित ५४ तथा शरद भेसावकरले अविजित २३ रन बनाएर नेपाललाई जित दिलाएका थिए। उक्त विश्वकप छनौटमा खकुरेल १० खेलमा २३४ रन बनाउदै नेपालको लागि सर्वाधिक रनकर्ता रहेका थिए।

५६ रन ( बिरुद्ध, अफगानिस्तान ) , टि-२० विश्वकप २०१४, बंगलादेश

२०१४ विश्वकपमा अफगानिस्तान बिरुद्ध नेपालले ९ रनको निकै रोमान्चक र याददार जित हात पारेको थियो। सो क्रममा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउदा अफगानिस्तानले १३२ रन बनाउन सकेको थियो।

पहिले ब्याटिंग गर्ने क्रममा नेपालको लागि खकुरेलले ५३ बलमा ६ चौका र १ छक्का मद्दतले ५६ रन बनाएका थिए। उक्त अर्धशतक नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक रहेको थियो।

अर्को किनारमा लगातार विकेट गुमेता पनि उनले १८.१ ओभरसम्म विकेट जोगाएर नेपाललाई प्रतिस्पर्धात्मक योगफल तिर डोर्याएका थिए। सो क्रममा उनले ज्ञानेन्द्र मल्लसंग ३२ रनको तथा शरद भेसावकरसंग ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। सुबास र शरदको सोहि साझेदारीको मद्दतले नेपालले ५३/३ बाट जित्ने स्थितिसम्म पुगेको थियो।

७१ रन ( बिरुद्ध युएई ) , एसीसी प्रिमियर लिग २०१४, मलेसिया 

युएईले दिएको १९२ रनको लक्ष्य ६ विकेट गुमाएर पुरा गर्ने क्रममा खकुरेलले ९१ बलमा ११ चौका मद्दतले ७१ रन बनाउदै जितको आधार तयार गरेका थिए। खकुरेलले ज्ञानेन्द्र मल्लसंग ६६ रनको, पारस खड्कासंग ५९ रनको तथा शरद भेसावकरसंग ३८ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएका थिए। खकुरेलनै खेलको प्लेयर अफ द म्याच चुनिएका थिए।

Subash Khakurel

४९ रन ( बिरुद्ध अमेरिका ) , डिभिजन-३ २०१४ , मलेसिया 

अमेरिका बिरुद्ध आफ्नो शानदार रेकर्ड कायम राख्ने क्रममा खकुरेलले अविजित ४९ रन बनाउदै जितमा अहम योगदान दिएका थिए। अमेरिकाले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाएको स्थितिमा खेल रोकिएपछि नेपालले डीएल मेथडमा उक्त खेल १० रनले जितेको थियो। धन्यवाद खकुरेल जसले ८२ बलको धैर्यतापूर्ण इनिंग खेलेका थिए जो उक्त खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए। ज्ञानेन्द्र मल्लसंग उनले सो क्रममा ७२ रनको साझेदारी गरेका थिए।

 ६३ रन ( बिरुद्ध पपुवा न्यु गिनी ) , आईसीसी विश्व क्रिकेट लिग २०१५ , युएई 

पपुवा न्यु गिनीसंग २ विकेटले पराजित भएता पनि खकुरेलले खेलमा अर्धशतक बनाएका थिए। अनिल मण्डल र सागर पुन छिट्टै आउट भएपछि खकुरेलले ज्ञानेन्द्र मल्लसंग तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। त्यसपछि पाँचौ विकेटको लागि उनले शरद भेसावकरसंग ५६ रनको साझेदारी गरे। नेपालले दिएको २३३ रनको लक्ष्य पपुवा न्यु गिनीले ८ विकेट गुमाएर ४९.३ ओभरमा जित्दै नेपाललाई निरास बनाएको थियो।

माथिको इनिंगहरु बाहेक खकुरेलले नेपाली अन्डर-१९ टिमको लागि खेल्दै २०१२ यु-१९ विश्वकपमा बनाएको ५५ रन, यु-१९ विश्वकप छनौट २०११ मा अफगानिस्तान बिरुद्ध बनाएको ५४ रन अन्य सम्झनलायक इनिंगहरु हुन्।





थप समाचार

पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ […]

मुम्बईले पञ्जाबलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १ सय ९३ […]

युएईविरुद्ध सेमिफाइनलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले शुक्रबार युएईको सामना गर्दै छ । ओमानको मस्कटमा हुने खेल […]

आइपीएल : मुम्बई र पञ्जाब खेल्दै

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच खेल हुँदै […]

युएईविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार नेपाल र युएईबीच खेल हुदैछ । एसोसिएट क्रिकेटको ईएल क्लासिको भिडन्त […]

गुजरातमाथि दिल्लीको सहज जित

काठमाडौं । दिल्ली क्यापिटल्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३२ औं खेलमा गुजरात टाइटन्समाथि सहज जित निकालेको छ । […]