क्यानडाको लगातार चौथो हार

२०८१ भाद्र ३, सोमबार २३:३४

क्यानडाले विश्वकप लिग टु सिरिज अन्तर्गत लगातार चौथो हार व्यहोरेको छ । लगातार चौथो खेलमा क्यानडा अमेरिकासँग पराजित भएको हो ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो ।

अमेरिकाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको क्यानडा ४७ ओभरमा अल आउट हुदै २ सय २५ रन मात्र जोड्न सफल भयो । क्यानडाका लागि प्रगत सिंहले ८० बलमा सर्वाधिक ७२, श्रेयस माभ्भाले ९५ बलमा ६८ रन जोडे ।

आदित्य भरान्दराजनले २५, ओपनर आरोन जोनसनले १०, कप्तान निकोलस किर्तनले ९ रन जोडे । अमेरिकाका लागि शाल्डि भान साक्वयले ४, जसदिप सिंह र हरमित सिंहले समान २ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिगेले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७५ रन जोडेको थियो ।

अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन जोडे । उनले ८४ बलमा ११ चौका प्रहार गरे । आरोन जोन्सले ५३ बलमा ५०, मिलान्ड कुमारले ३० बलमा ४७, स्टेभन टेलरले ७७ बलमा ४६, कप्तान मोनांक पटेलले २६ रन जोडे ।

क्यानडाका लागि साद विन जाफरले ३, कलिम सानाले २ र डिलोन हेलिङ्गरले १ विकेट लिए । जितसँगै ८ टोली सहभागी लिग टु मा ४ अंकका साथ अमेरिका पाँचौ स्थानमा उक्लिएको छ ।

पहिलो राउन्डको सिरिजमा शतप्रतिशत जित निकालेको क्यानडा दोस्रो राउन्डमा अंक बिहिन बनेको छ । क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ ।

नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy