क्यानडा एघारलाई नेपाल ए को २१७ रनको लक्ष्य

२०८० फाल्गुन ६, आईतवार १२:४४

काठमाडौं । नेपाल ए ले ऐतिहासिक खेलमा क्यानडा एघारलाई २ सय १७ रनको लक्ष्य दिएको छ ।

यो नेपाल ए टिमको औपचारिक घोषणा भएपश्चातको पहिलो खेल हो । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो ।

नेपालका लागि बसिर अहमदले ५५ बलमा ३ चौका र १ छक्कको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । नेपाल ए टिमबाट अर्धशतक बनाउने बसिर पहिलो क्रिकेटर हुन् । राशिद खानले ६६ बलमा ५ चौकाको सहयोगमा ४० रन बनाए । खान क्यानडाका कप्तान साद विन जाफरको बलमा बोल्ड आउट भए । ओपनर मयन यादवले ५६ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । ३५ रन बनाएका यादव हर्ष थाकरको बलमा आउट भए ।

किरण ठगुन्नाले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन बनाए । विवेक यादवले ३४ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । विवेक र बसिरले सातौ विकेटका लागि ५९ रनको साझेदारी गरे ।

सन्दीप जोराले २५ बलमा १४ रन बनाए । क्यानडाका लागि कप्तान साद विन जाफरले ३ तथा ईश्वरजित सोहीले २ विकेट लिए ।

नेपाल ए ले पहिलो पटक ३ खेलको एकदिवसीय सिरिज क्यानडा एघारसँग खेलिरहेको छ । क्यानडा एघारसँगको दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy