नेपाललाई विश्वकप छनोटमा सिधै स्थान बनाउँन लिग टूको शीर्ष चारमा पर्नु पर्ने

२०८० फाल्गुन १, मंगलवार १३:१८

काठमाडौं । २०२४ देखि २०२७ सम्म चल्ने आईसीसी विश्वकप लिग–२ को सिरिजका शीर्ष चारमा परे नेपालले सोझै विश्वकप छनोट खेल्न पाउने भएको छ ।

आईसीसीका अनुसार तीन वर्ष चल्ने लिग टू को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ ।

तीन वर्ष भित्र लिग टू का २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १ सय ४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

पुछारका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । पुछारका चार टोलीले विश्वकप च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीसँगै विश्वकप छनोटमा पुग्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ ।

यसअघि २०१९ देखि २०२३ सम्मको लिग टू मा ७ टोलीको सहभागिता थियो । नेपाल, स्कटल्यान्ड र ओमानले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेलेका थिए ।

तर यसपटक नेदरल्यान्ड्स पनि लिग टू मा आएको छ । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । त्यस्तै च्यालेन्ज लिगबाट छनोट प्लेअफ हुँदै लिग टू मा आएको हो ।

लिग टू मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् ।

लिग टू को पहिलो सिरिज बिहीबारदेखि नेपालमा सुरु हुँदैछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग टू को सुरुआत गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy