नेपाललाई सेमिफाइनल पुग्न ७४ रनको लक्ष्य

२०८० फाल्गुन २, बुधबार १३:०८

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाउँन नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो ।

कुवेतका लागि ओपनर प्रियन्दा मुरलीले ३३ बलमा २९ तथा शान्थी बालासुप्रमन्यम र खादिजा खालिलले समान १३/१३ रन बनाए । कुवेतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सीता रानामगरले ह्याट्रिक सहित तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले समान दुई दुई विकेट लिए ।

नेपाल तीन खेलमा अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह डी मा शीर्ष स्थानमा रहेको नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्न लागेको हो । कुवेतले समूह चरणमा दुई खेल जित्दा एकमा हार व्यहोरेको थियो ।

क्वाटरफाइनल विजेता भए नेपालले सेमिफाइनलमा मलेसिया र जापानबीचको विजेतासँग खेल्ने छ ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy