नेपाली बलर चम्कँदा गुजरात ९८ रनमा अल आउट

२०८० चैत्र १८, आईतवार १६:२४

काठमाडौं । भारतमा आजबाट सुरु फ्रेन्डसिप कप त्रिकोणत्मक टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाली बलरले राम्रो प्रदर्शन गर्दा गुजरात क्रिकेट एसोसियसनको टोली ९८ रनमा नै अल आउट भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातको टोलीले १८ दशमलब २ ओभरमा अल आउट हुदै ९८ रन मात्र बनाउँन सक्यो ।

गुजरातका लागि रूद्र पटेल २३ बलमा २० तथा सरल प्रजापतीले १६ बलमा १७ रन बनाए । अभिशेक देशाईले १५ बलमा ११ रन बनाए । स्मिथ पटेलले ८ बलमा १० रन बनाउँदा गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि गुलसन झाले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए । करण केसीले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ ।

नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दा बुधबार पुनः गुजरातसँग खेल्नेछ । शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।

यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो । यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy