नेपाल पुनः ब्याटिङमा चुक्यो, ११ खेलाडीले बनाए मात्र ७१ रन

२०८० फाल्गुन ३०, बुधबार २०:१०

काठमाडौं । नेपाल ब्याटिङमा चुक्दा हङकङमा भएको त्रिदेशीय टी-ट्वान्टी आई सिरिजमा उपविजेतामा सिमित भएको छ ।

नेपाल सिरिजको फाइनलमा पपुवा न्युगिनी(पीएनजी)सँग ८६ रनले पराजित भएको हो ।

पीएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलब ३ ओभरमा ८५ रनमा अल आउट भयो ।

नेपालका लागि ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । नेपालले १६ रन अतिरिक्तमा पाउँदा ११ ब्याटरले मात्र ७१ रन जोड्न सकेका थिए । नेपालका लागि सन्दिप जोराले सर्वाधिक १७ तथा आरिफ शेखले १५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले १२ रन बनाउँदा ८ ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पीएनजीको जितमा कबुअ मोरिया, सिमो कमिय, चाड सोपार र सेसे बाउले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

पीएनजीका लागि ओपनर टोनी उराले ३७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । ओली नोयले १० बलमा ३० रन बनाए । हिला भारीले १८ तथा चाड सोपारले १३ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिए । यससँगै नेपाल पीएनजीसँग टी-ट्वान्टी आईमा दोस्रो पटक पराजित भएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy