पीएनजीलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

२०८० फाल्गुन २८, सोमबार २०:५५

काठमाडौं । हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजमा नेपाल र पपुवा न्युगिनी(पीएनजी) मंगलबार भिड्दै छन् । पीएनजीलाई हराउँदै नेपाल फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

नेपाल र पीएनजीबीचको खेल नेपाली समयअनुसार बिहान पौने ७ मा सुरु हुनेछ ।

त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । हङकङ भ्रमणका क्रममा नेपालले केही मुख्य खेलाडीलाई आराम दिएको छ । त्यसकारण केही नयाँ खेलाडीले मौका पाउने सम्भावना छ । विश्वकप अघि नेपाल हङकङ भ्रमणका क्रममा आफ्नो बेन्च परिक्षण गर्न चाहन्छ ।

नेपाल र पीएनजीबीच हालसम्म ४ टी-ट्वान्टी आई भएकोमा ३ खेलमा नेपाल विजयी हुँदा १ मा भने पराजित भएको छ । नेपालले आईतबार घरेलु टोलीसँग सिरिजको पहिलो खेल खेलेको थियो । वर्षाका कारण खेल पूरा हुन नपाउँदा दुवै टोलीले अंक बाडेका थिए । सिरिजमा पहिलो खेल खेल्दै गरेको पीएनजी जितका साथ सिरिज सुरुआत गर्न चाहन्छ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, विनोद भन्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, अभिनास बोहोरा, लोकेश बम, आकाश चन्द ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy