काठमाडौं,असोज १०
एभरेस्ट प्रिमियर लिगअन्तर्गत आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले र पोखरा राइनोजबीचको खेल वर्षाका कारण प्रभावित हुँदा अंक बाँडेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले १०.१ ओभरमा सात विकेटको क्षतिमा ६५ रन बनाउँदा वर्षा भएको थियो । त्यसपछि लगातार वर्षा चलेपछि दुवै टोलीमा अंक बाँडिएको हो । विवेक यादव १६ रन र विक्रम सोब ७ रनमा हुँदा वर्षा भएको थियो । त्यसपछि लगातार वर्षा भएपछि अम्पायरले खेल रद्द गरेका हुन् । त्यसअघि पोखराका ओपनरद्वय रिचर्ड लेभी शुन्यमा र सुनील धमला १ रनमा नै आउट भएका थिए ।
विपिन रावल ६ रन,कप्तान विनोद भण्डारी शुन्य र लोकेश बम पनि शुन्यमा नै पवेलियन फर्किएका हुन् । भैरहवाका दुर्गेस गुप्ताले तीन विकेट, धमिका प्रसाद, अविनाश बोहोरा र तुलबहादुर थापाले समान एक विकेट लिए । पोखराले श्रीलंकन ब्याट्सम्यान असेला गुनरत्नेलाई २३ रनमा रनआउटका रुपमा गुमाएको थियो । उनलाई तमिम एकबलले रनआउट गरेका हुन् । वेस्ट इन्डिजका केसरिक विलियम्स पनि शुन्यमा नै पवेलियन फर्किएका थिए ।
भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले अंक बाँडे
२०७८ आश्विन १०, आईतवार १६:११
