अष्ट्रेलिया ६ ओभरमा नै विजयी, सिरिजमा क्लिनस्विप

२०८० माघ २३, मंगलवार १३:५८

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तेस्रो ओडीआई खेलमा वेस्टइन्डिजले दिएको लक्ष्य ६ ओभरमा नै पूरा गरेको छ ।

घरेलु टोलीले ६ ओभरमा लक्ष्य भेटेर ८ विकेटले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको छ ।

पाहुना टोलीले दिएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ओपनर ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको इनिङ खेले । जोश इंग्लिस १६ बलमा ४ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे ।

वेस्टइन्डिजका अल्जारी जोशेफ र ओशान थोमसले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको वेस्टइन्डिज २४ दशमलब १ ओभरमा ८६ रनमा अल आउट भएको थियो ।

वेस्ट इन्डिजका लागि ओपनर एलिक एथानाजेले ६० बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाए । केसी कार्टी १० र रोश्टन चेश १२ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका जेभियर ब्रार्टलेटले ४ तथा लान्सी मोरिस र एडम जाम्पाले समान दुई दुई विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८ विकेट र दोस्रो खेलमा ८३ रनले विजयी भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy