प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई आठ विकेटले पराजित गर्दै जारी प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो।

गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९।३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६, ममता चौधरीले १८ र रोमा थापाले अविजित १४ रन बनाइन्।

यता, गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिइन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो। बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो।

गण्डकीका लागि कप्तान सिर्जना पौडेलले २५, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाए।

एपिएफका लागि विन्दु बुढाले दुई र करुणा भण्डारीले एक विकेट लिए।

जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ। दुवै खेलमा पराजित गण्डकी अंकविहिन छ। यसअघि पहिलो खेलमा एपिएफले कर्णाी प्रदेशलाई १११ रनले पराजित गर्दा गण्डकीले सुदूरपश्चिम प्रदेशसँग सात विकेटको हार बेहोरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy