प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहिवार सम्पन्न खेलमा आर्मी १४ रनले विजयी भएको हो।

आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।

सुदूरका लागि मनिषा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यात, आर्मीका लागि सुस्मिता भुसालले तीन सीता शाही र लक्ष्मी साउद समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११० रन बनाएको थियो। आर्मीका लागि सम्झना खड्काले ५७ बलमा आठ चौकाको मद्दतले ७६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि जानकी थापाले दुई तथा आशिका महरा र रेवती धामीले समान एक विकेट लिए।

सुपर फोरको अन्तिम खेलमा आर्मीले एपिएफ र सुदूरपश्चिमले बागमतीको सामना गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy