- विकेटनेपाल, धनगढी, वैशाख २२
कैलालीको अत्तरीयामा जारी राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणका दुवै खेलमा जित हात पार्दै एपिएफ समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो।
शुक्रवार अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा भएको दोस्रो खेलमा एपिएफले कञ्चनपुर ११ माथि ८ विकेटको सानदार जित दर्ता गरेको हो । यस अघि विहीवार पनि एपिएफले नेपाली महिला क्रिकेट टीमकी कप्तान रुवीना क्षेत्रीले नेतृत्व गरेको मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको थियो।
एफपिएले समुह एक दुवै खेलमा जित हात पारेर विजेता बनेको अवस्थामा एक-एक खेल गुमाएका मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर ११ वीच हुने समुह चरणको खेलमा जित हात पार्ने टोली उप-विजेता बन्दै सेमिफाईनल पुग्नेछ।

टस जितेर पहिले व्याटिङ गरेको कञ्चनपुर ११ ले १२ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ३५ रनको झिनो योगफल बनायो । सुरुदेखि विकेट गुमाएर दवावमा परेको कञ्चनपुरका कुनै पनि खेलाडीले दोहोरो रनको अंक छुन सकेनन् । कप्तान रेखा रावलले वनाएको ५ रननै सर्बाधिक रन बन्न पुग्यो । कञ्चनपुरका खेलाडीको ब्याटबाट २१ रन मात्रै वनेको अवस्थामा १४ रन अतिरिक्त थियो। कञ्चनपुरलाई कम रनमा समेट्नका लागि एपिएफकी विनु वुढा मगर, करुणा भण्डारी, सीता रानामगर र सरीता मगरले २/२ विकेट लिईन् । ईन्दु वर्मा र सोनु खड्काले १/१ विकेट लिईन्।
३६ रनको झिनो लक्ष्य लिएर मैदान ओर्लिएको एपिएफले ५ ओभरमै २ विकेट क्षतीमा विजय लक्ष्य भेट्टायो । जितमा ज्योती पाण्डेयले १२ रन बनाईन्न भने सीता मगर र ममता चौधरीले ६-६ रन बनाईन् । कञ्चनपुरकी डली भट्टले २ विकेट लिईन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी सीता मगर वुमन अफ द म्याच भईन् । उनले नगद ३ हजार हात पारिन् ।
शुक्रवार भएको पहिलो खेलमा राइजिंग क्रिकेट वुमन्स काठमाण्डौले जित हाँसिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो ।
टस जितेर पहिले व्याटिग गरेको राईजिग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३७ रन वनायो । यो योगफल तयार पार्नका लागि विदेशी खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो। बंगलादेशी खेलाडी सहनाज प्रविन र भारतीय खेलाडीद्धय पुजा निमा भाट र लक्ष्मी चौधरीले महत्वपूर्ण योगदान दिए । २० रन बनाएकी सहनाजले १९ रन वनाएकी पुजासंग पहिलो विकेटका लागि २४ रनको साझेदारी गरिन्।
सहनाजले दोस्रो विकेटका लक्ष्मी चौधरीसग ४५ रनको साझेदारी गरिन् । लक्ष्मीले पनि आफ्नो टीमका लागि २० रनको योगदान गरिन् । कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि चाँदनी शाहले २ विकेट लिईन्। सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन्।
एक सय ३८ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा एक सय २० रन मात्रै बनाउन सक्यो । सुरुवात राम्रो भएपनि मध्यक्रम चल्न नसक्दा घरेलु टोली पराजित भएको हो। टीमका लागि नितु भण्डारीले ३५ रन बनाईन् । मन्जु भण्डारीले २० र कविता कुवरले १७ रन बनाईन् ।

पहिलो विकेटका लागि नितु र मन्जुले ४८ रनको साझेदारी गराई उत्कृष्ट सुरुवात गराईन । दोस्रो विकेटका लागि मन्जुले कवितासग ३६ रनको साझेदारी गरे पनि त्यसपछि लामो साझेदारी नवन्दा कैलालीको टीमले हार व्यहोरेको हो । राईजिग क्रिकेट वुमनका लागि अस्मीना कर्माचार्यले ३ विकेट लिईन । पुजा निमा भाटले २ तथा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन । खेलमा १९ रन वनाएर एक विकेट लिएकी भारतीय खेलाडी पुजा निभा भाट वुमन अफ द म्याच भईन । उनले नगद ३ हजार हात पारिन् ।
प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा राईजिग क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा कञ्चनपुर ११ र मिलन क्रिकेट एकेडेमी झापा विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।