अस्ट्रेलियाको सिड्नीमा जारि राष्ट्रिय क्रिकेटर समेत रहेका प्रदिप ऐरीले अविस्मरणीय कीर्तिमानी प्रदर्शन गर्दै विशाल शतक बनाएता पनि अभानी प्रिमियर लिगमा सिड्नी स्ट्राइकर्सले हार व्यहोरेको छ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स, सिड्नी स्थित स्प्रिंगफिल्ड पार्कमा सम्पन्न हईस्कोरिंग खेलमा २५५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा स्ट्राइकर्सले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर २२६ रन बनायो।
लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गरेका प्रदिप ऐरीले अविजित रहँदै १७६ रन बनाए। त्यस क्रममा मात्र ६५ बलको सामना गरेका ऐरीले १६ चौका र १४ विशाल छक्का प्रहार गरे। लिगमा प्रहार भएको यो चौंथो शतक हो भने हालसम्मको सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि सिड्नी कलन्दर्सका रेहाब अफ्जलले १३२ रन बनाएका थिए।
ऐरी बाहेक टिमका अन्य ब्याटरले भने ठूलो योगदान दिन सकेनन्। साई ड दाईले १९ तथा बर्कत शाहले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिंगतर्फ नर्थ शोर भाइकिंग्सका बसित अलिले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३१ रन खर्चिए।
यस अघि नर्थ शोर भाइकिंग्सले निर्धारित १८ ओभरमा ४ विकेट क्षेतीमा २५४ रन बनाएको थियो। उसको लागि तिन ब्याटरले अर्धशतकीय इनिंग्स खेलेका थिए। बसिर अलिले ६०, बिनित साहनीले ५४, ओमर फारुकले ५३ तथा शेबेक खानले ४१ रन बनाए। स्ट्राइकर्सका बलर सन्जय प्रणामीले २ विकेट लिए।
हार पछि लिग अंकतालिकाको समुह ‘बि’ मा रहेको सिड्नी स्ट्राइकर्स सातौं स्थानमा छ। जितपछि नर्थ शोर भाइकिंग्स समुह ‘बि’ अंकतालिकाको शिर्षमा छ जसले ६ खेलमा ४ जित दर्ता गरेको छ।
लिग अन्तर्गत यो साता सम्पन्न अन्य ३ खेलहरुमा सिड्नी स्करपीयन्सले अभानी क्रिकेट क्लबलाई, रोयल पन्जाबीले रोयल इन्डीएन्सलाई तथा पन्जाब किंग्सले सिड्नी कलन्दर्सलाई पराजित गर्यो।