काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आइतबारबाट सुरु नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको अन्तिम वार्मअप खेलमा नेपालसँग एकै समूहमा रहेको बंगलादेश भारतसँग पराजित भएको छ ।
शनिबार राती अमेरिकाको न्युयोर्कमा सम्पन्न खेलमा भारत ६० रनले विजयी भयो ।
भारतले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनायो ।
बंगलादेशका लागि मेहमुदुल्लाहले २८ बलमा ४० तथा शाकिब अल हसनले ३४ बलमा २८ रन बनाएका थिए ।
भारतका लागि शिभम दुवे र अर्शदिप सिंहले समान दुई दुई तथा हार्दिक पान्ड्या, जसप्रित बुमराह, मोहम्मद सिराज र अक्षर पटेलले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
भारतका लागि रिषभ पन्तले ३२ बलमा ५३ तथा हार्दिक पान्ड्याले २३ बलमा अविजित ४० रन बनाए ।
बंगलादेशका लागि तनविर इस्लाम, मेहमुदुल्लाह, मेहदी हसन र शरिफुल इस्लामले समान एक एक विकेट लिए ।
बंगलादेश टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।