- विकेटनेपाल, पौष ५ – बुधबार
किर्तिपुर मैदानमा आज भएको बिराटनगर वारियर्स र पोखरा राइनोज बिचको रोमान्चक खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले लगातार दोश्रो जित दर्ता गरेको छ ।
स्कोरकार्ड
टस हारेर पहिले ब्याटिंग गरेको शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका ओपनर इन्स्राउल्लाह र सुनिल धमलाले राम्रो सुरुवात दिलाएपनि मध्यक्रमले राम्रो साझेदारी गर्न सकेन । इन्स्राउल्लाहले १६ बलमा १ छक्का र २ चौका सहित २१ रन बनाए भने धमलाले १ चौका र १ छक्काले १८ रन बनाए ।
बिनोद भण्डारी र आसिफ अलि क्रमश ४ र १ रनमा आउट हुदाँ राजेश पुलामीले ३५ बलमा २ चौका र १ छक्का सहित ३० रन बनाए भने कप्तान शक्ति गौचन ५ रन बनाएर आउट भए । सौरव खनाल र ताज अलिले क्रमश: १६ र १८ रन बनाउदै अविजित रहे ।
बिराटनगरका लागि राम्रो बलिंग परिवर्तनको नमुना प्रस्तुत गरेका कप्तान पारस खड्काले ३ विकेट लिन ४ ओभरमा २८ रन खर्चे । बसन्त रेग्मी र अविनाश कर्णले समान १ विकेट लिन १६/१६ रन खर्चे भने रामनरेश गिरीको नाममा १ विकेट रह्यो ।
करण केसीले गरेको पहिलो इनिंगको अन्तिम बलमा पोखराका ब्याट्सम्यानहरु रन लिने क्रममा पिचमा दौड़ेपछी अम्पाएरले पेनाल्टी स्वरूप बिराटनगरलाई ५ बोनस रन दिएका थिए ।
जवाफमा बिराटनगरले ७ विकेट गुमाउदै २ बल बाकी छँदा लक्ष्य पुरा गर्यो । उसका लागि ओपनर अन्स्युमन राथले ६० रन बनाए भने बाबर हायातले २२ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न नसकेको खेलमा प्रनित थापाले अन्तिम ३ बलमा चौका सहित ७ रन बनाएपछी बिराटनगरले जित दर्ता गरेको हो ।
पोखराका लागि पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले २ विकेट लिने क्रममा ४ ओभरमा १० रन मात्र खर्चेपनि जितका लागि पर्याप्त हुन सकेन ।
एकातर्फबाट लगातार विकेट झरिरहेको अवस्थामा सम्हाल्लिएर अर्धसतक बनाएका हंगकंगका अन्स्युमन राथ खेलको उत्कृस्ट खेलाडी घोषित भए ।