पाँचौं बंगलाचुली कपको उपाधि वडा नम्बर चारलाई

हिमाल महरा
घोराही।  बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले पाँचौं बंगलाचुली कप अन्तरगतको क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

फाइनलमा वडा नम्बर २ लाई पराजित गर्दै चौथो पटक उपाधि उचालेको हो।

टस जितेर पहिले ब्याटिङ गर्दै फाइनल खेलमा वडा नम्बर ४ ले ९९ रन बनाएको थियो। १०० रनको लक्ष्यसहित मैदानमा उत्रिएको वडा नम्बर २ ले ५० रन मात्र बनाउन सक्यो। यससँगै वडा नम्बर ४ पाँचौं संस्करणसम्ममा लगातार फाइनल पुग्ने र सर्वाधिक पटक उपाधि जित्ने टोली बन्न सफल भएको हो।

वडा नम्बर ४ का तर्फबाट राजेन्द्र गिरिले २३ बलमा ३ चौका सहित २७ रन, जगत नेपालीले १० बलमा १ चौका र १ छक्का सहित १८ रन, र कमल नेपालीले १० बलमा १ चौकासहित १२ रन बनाए।

बलिङतर्फ वडा नम्बर २ का शिशिर जिसीले ३ ओभरमा ३० रन खर्चिँदै ३ विकेट लिए भने शिशिर गोराथोकीले ३ ओभरमा १ मिडेन सहित २० रन दिँदै २ विकेट लिए।

वडा नम्बर २ को ब्याटिङ कमजोर देखियो। शिशिर जिएमले १० रन र शरद जिएमले १८ रन बनाए बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

वडा नम्बर ४ का बलर समीर थापाले ३ ओभरमा १२ रन दिँदै ३ विकेट लिए। त्यस्तै, अंकित पुनले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए भने कमल नेपालीले ३ ओभरमा ११ रन दिँदै १ विकेट लिए।

व्यक्तिगत पुरस्कारहरूमा पनि वडा नम्बर ४ अग्रणी
– राजेन्द्र गिरि ‘म्यान अफ द सिरिज’ घोषित भए। बेष्ट ब्याट्सम्यान वडा नम्बर ६ का चुमान वली बने भने बेष्ट बलरको उपाधि वडा नम्बर ४ कै कमल नेपालीले प्राप्त गरे।

प्रतियोगितामा विजेता वडा नम्बर ४ ले ३० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता वडा नम्बर २ ले १८ हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको  प्रतियोगिता समितिका सदस्य सचिव तथा युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख ओम केसीले दिए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy