प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

२०८१ माघ ४, शुक्रबार १५:२४

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ।

फाप्ला क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको २१ रनको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो।

वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो। ढिला सुरु भएका कारण खेल ५ ओभरमा छोट्याइएको थियो।

कर्णालीले दिएको २१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १।३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा कविता कुँवरले सर्वाधिक १४ रन जोडिन्। उनले ६ बलमा २ चौका प्रहार गरिन्। अर्की ओपनर मनिषा बोहोराले नट आउट ५ रन जोडिन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन जोडिन्। कर्णालीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। श्रुर्ती बुढाले सर्वाधिक ८ तथा रमा बुढाथोकीले ६ रन जोडिन्।

सुदूरपश्चिमका लागि आशिका महराले ३, कविता कुँवरले २ तथा ऋतु कनौजियाले १ विकेट लिईन्। लगातार तेस्रो जितसँगै सुदूरपश्चिम ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। पराजित कर्णाली ३ खेलमा १ अंकका साथ पाँचौ स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy