सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो।

हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो। १२७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक २९ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यता, एपिएफका लागि कप्तान इन्दु बर्मा र कविता जोशीले समान २ तथा सवनम राईले १ विकेट लिइन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १८ ओभरमा २ विकेट गुमाएर १२६ रनको योगफल तयार गरेको थियो।

एपिएफका लागि कप्तान इन्दुले सर्वाधिक ५८ रन जोडिन्। ममताले ४९ बलमा नट आउट रहँदै ३६ रन जोडिन्। कविता जोशीले नट आउट १३ रन बनाउँदा राजमती ऐरी २ रनमा आउट भइन्। सुदूरपश्चिमका लागि जानकी थापाले १ विकेट लिइन् ।

जितसँगै समूह ए को विजेता बन्दै एपिएफ सुपर फोरमा पुगेको छ। सुदूरपश्चिम समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy