कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले पराजित गरेको हो। १२७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो।

कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। लुम्बिनीका लागि सरस्वती पुनले ४ तथा मनिषा राना, आस्ना चौधरी र मधु डिसीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन जोडेको थियो।

लुम्बिनीका लागि ओपनर रञ्जु श्रेष्ठले नट आउट रहँदै सर्वाधिक ५१ रन जोडिन्। लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीले अतिरिक्तमा ३९ रन खर्चिएको थियो। कर्णालीका लागि अञ्जु गुरुङले ३, रमा बुढाथोकीले २ तथा दिक्षा पुरी र रश्मी खड्काले समान १ विकेट लिईन्।

जितसँगै लुम्बिनीले ४ खेलमा ५ अंकका साथ समूह ‘ए’ मा तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकेको छ। लुम्बिनीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। कर्णालीले ४ खेलमा १ अंक जोड्दै समूहको पुछारमा रहेर प्रतियोगिता समाप्त गरेको छ।

आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब समूह विजेताका रुपमा सुपर फोरमा पुगेको छ। सुदूरपश्चिम उपविजेताका रुपमा सुपर फोरमा पुगेको छ । योसँगै समूह ‘ए’ का खेल सकिएका छन् । समूह ‘बी’ का खेल आइतवार सुरु हुनेछ।

प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy