गण्डकी प्रदेश टी–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन

पोखरा। पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ। स्याङ्जाले फाइनलमा नवलपुरलाई ४ विकेटले पराजित गरेकाे हाे।

स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, पहिले ब्याटिङ थालेकाे नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो। जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे।

यसअघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए। स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए। उनी खेलको म्यान अफ दि म्याच बने। यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए।

यता स्याङजाका लागि जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे। सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए। अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए। दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए।

च्याम्पियन भए सँगै स्याङजाले नगद १ लाख र उपविजेता बनेको नवलपुरले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

यहि जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो। प्रतियोगितामा प्लेयर अफ दि सिरिज सँगै वेष्ट ब्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे। उनले ट्रफी सँगै नगद ४ हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए। उनीहरुले जनही नगद २–२ हजार प्राप्त गरे।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा सम्पन्न प्रतियोगितामा विजेता टोली तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, प्रतियोगिताका संयोजक ऋषीराम गौतम संघका सचिब सुमनराज कार्की, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy