हार्दिक पान्ड्यको अलराउण्ड प्रदर्शनका बाबजुत मुम्बई हार्यो, बेंगलोरको तेस्रो जित

२०७५ बैशाख १९, बुधबार ०६:०८

  • विकेटनेपाल, बैशाख १९ – बुधबार

ईन्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेंजर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच भएको खेलमा मुम्बई इन्डियन्सलाई १४ रनले पराजित गर्दै बेंगलोरले प्रतियोगितामा तेस्रो जित हात पारेको छ। जितसंगै बेंगलोर अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने मुम्बई सातौँ स्थानमा झरेको छ।

चिन्नास्वामी मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टिम बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। उसका  लागि ओपनर मनन वोहराले ४५ रनको पारि खेल्नेक्रममा ३१ बलमा २ चौका र ४ छक्का प्रहार गरे। तेस्रो विकेटको लागि ब्रेण्डन म्याकलमले   ३७ रन (२५ बल, ४ चौका, २ छक्का) तथा विराट कोहलीले ३२ रन (२६ बल, २ चौका, १ छक्का) बनाउँदै ६० रनको साझेदारी गरेका थिए।

मन्दिप सिंह १० बलमा १४ रन बनाएर आउट हुँदा कुनै समय १५० रनको स्कोर पुग्न मुस्किल देखिएको ब्याटिंगममा कोलिन डी ग्राण्डहोमले आफ्नै देशका मिचेल मेक्लेनेघनलाई अन्तिम ओभरमा २४ रन प्रहार गरेका थिए। ग्राण्डहोमले अविजित २३ रन बनाउन १० बलको सामना गरेका थिए।

कुनै समय १३९/३ को अवस्थामा रहेको बेंगलोरले राम्रो स्कोर बनाउने अनुमान गरिएको थियो तर आफ्नो पहिलो ओभरमा २० रन दिएका हार्दिक पान्ड्य (४-०-२८-३) ले अन्तिम ओभरमा मन्दिप सिंह, विराट कोहली र वासिंगटन सुन्दरलाई आउट गरेका थिए।

जवाफमा लक्ष्य पछ्याएको मुम्बईले बेंगलोरको सुधारिएको बलिंग अगाडी २० ओभरमा ७ विकेट गुमाएर १५३ रनमात्र बनायो। उसका लागि हार्दिक पान्ड्यले ५० रन (४२ बल, ५ चौका, १ छक्का) बनाएपनि हार टार्न सकेनन्।

बेंगलोरको लागि म्यान अफ द म्याच टिम साउथीले २५ रन खर्चेर, मोहम्मद सिराजले २८ रन खर्चेर तथा उमेश यादवले २९ रन खर्चेर समान २/२ विकेट हात पारे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy