युएईमा जारि १३ औं सिजनको आईपीएल टि-२० सुरु भएको २ साता भन्दा बढी भैसकेको छ। सधै जस्तै यो पटक पनि ८ टिमहरु बीच जारि घमासानमा विश्व क्रिकेटका चर्चित खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन्। आईपीएल फ्यानहरु माझ चर्चित हुनुको पछाडी विश्व क्रिकेटका आफ्ना प्रिय खेलाडीहरुको जमघट हुनु पनि हो। कोभिड-१९ का बाबजुद विश्वभरबाट ठूला क्रिकेटरहरु लिगमा सहभागी हुन पुगेका छन्। आफ्ना प्रिय खेलाडीहरुको खेल लामो पर्खाइ पछि फ्यानहरुले हेर्न पाइरहेका छन्। तर केहि त्यस्ता ठूला नामहरु पनि छन् जसलाई समर्थकहरुको चाहना भएता पनि मैदानमा हेर्ने प्रतीक्षा पुरा भएको छैन। लिगमा एउटा टिमले अन्तिम-११ मा मात्र ४ जना विदेशी खेलाडी खेलाउन पाउने नियम, टिमको सन्तुलन, आवश्यकता, फर्म र फिटनेसको कारण पनि खेलाडीहरुलाई टिमले बेन्चमा राख्ने गरेको छ। न्युजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियमसन जस्ता ठूलो नामले समेत अन्तिम-११ मा पर्न संघर्ष गर्नुले त्यसलाई प्रस्ट पार्छ। यो सिजन अझै सम्म अन्तिम-११ मा स्थान बनाउन असफल ६ ठूला खेलाडीहरुको सूची यहाँ प्रस्तुत गरेका छौँ –
१. इमरान ताहिर
दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरले चेन्नाईले हालसम्म खेलेको ५ खेलमा मौका पाएका छैनन्। ताहिरले आईपिएलको गत सिजन १९ खेलमा २६ विकेट लिदैं पर्पल क्यापनै जितेका थिए। चेन्नाईले लेग स्पिनरको रुपमा पियुष चावला तथा देब्रे हाते स्पिनर रभिन्द्र जडेजालाई मौका दिईरहेको छ भने विदेशी खेलाडीमा शेन वाटसन, फाफ डु प्लेसी, स्याम करन र ड्वेन ब्राभोले मौका पाएका छन्। ४१ वर्षिय ताहिर करेबियन प्रिमियर लिग (सिपिएल) टि-२० मा गजबको प्रदर्शन गर्दै आईपिएलमा सहभागी जनाउन युएई पुगेका थिए। सिपिएलमा गुएना एमाजोन वारियर्सको प्रतिनिधित्व गरेका ताहिरले ११ खेलमा १५ विकेट लिदैं सर्वाधिक विकेटकर्ताको तेस्रो स्थानमा रहेका थिए। भारतिय पूर्व कप्तान महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किङ्ग्सको प्रतिनिधित्व गरिरहेका ताहिरले अझै मौका पाउने संकेत छैन जसकारण उनले दौडदै हात फैलाएर गर्ने सेलेब्रेसन फ्यानहरु याद गरिरहेका छन्।
२. क्रिस गेल
टि-२० क्रिकेटकै सर्वाधिक विस्फोटक ब्याट्सम्यान क्रिस गेलले हालसम्म पन्जाबले खेलेको ५ खेलमा मौका पाएका छैनन्। ४१ वर्षिय गेल लिगको आठौँ सर्वाधिक रन कर्ता हुन्। आईपिएलको दोस्रो संस्करण (२००९) देखि लगातार सहभागी जनाएका गेलले यस दौरान कैयौं किर्तिमानहरु हासिल गरेका छन्। ‘युनिभर्सल बोस’ उपनामले परिचित उनले २ पटक ओरेन्ज क्याप जितेका छन्। गत सिजन राम्रो लयमा देखिएका गेलले १३ खेलमा ४९० र बनाएका थिए र सर्वाधिक रन बनाउने सूचीमा छैठौं स्थानमा थिए। गेल लिग इतिहासकै आठौँ सर्वाधिक रनकर्ता हुन् जसले १२५ खेलमा ४,४८४ रन बनाएका छन् जुन क्रममा सर्वाधिक ६ शतक र २८ अर्धशतक प्रहार गरेका छन्। लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर अव्जित १७५ रन पनि गेलकै नाममा रहेको छ। टिमको खराब प्रदर्शनको कारण उनले अब लामो समय प्रतिक्षा गर्नु नपर्ने देखिन्छ। उनलाई यसअघि अक्सनमा पनि कुनै टिमले चासो नदेखाए पछि पन्जाबले दोस्रो राउण्डमा उनलाई भित्र्याएको थियो।
३.क्रिस लिन
अष्ट्रेलियन आक्रामक ओपनिंग ब्याट्सम्यान क्रिस लिनले मुम्बईले खेलेको ६ खेलमा मौका पाएका छैनन्। २०१२ (२०१३ र २०१५ बाहेक) यता आईपिएलमा सहभागी जनाउदै आएका लिनले लिगमा ३३.६८ को औसतमा १२८० रन बनाएका छन्। ३० वर्षिय उनले लिगमा डेकन चार्जर्स र कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरिसकेका छन्। मुम्बईको लागि क्विन्टन डिकक र कप्तान रोहित शर्माले ओपनिंग ब्याटिंग सम्हालिरहेका छन् जसकारण लिनले मौका पाउन अझै प्रतिक्षा गर्नुपर्ने देखिन्छ। मुम्बईले विदेशी खेलाडीको रुपमा डीकक पछि ट्रेन्ट बोल्ट, काइरन पोलार्ड र जेम्स प्याटीन्सनलाई मौका दिएको छ जसको प्रदर्शन राम्रो रहेकोले लिनलाई मैदानमा देख्न मुस्किल छ।

४.मुजिब उर् रहमान
अफ्गानी मिस्ट्रि स्पिनर मुजिब उर् रहमानले पन्जाबले खेलेको ५ खेलमा मौका पाएका छैनन्। १९ वर्षिय युवा स्पिनर मुजिबले करेबियन प्रिमियर लिगमा शानदार प्रदर्शन गर्दै युएई पुगेका थिए। ११ खेलमा १६ विकेट लिएका मुजिब सिपिएलको सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा थिए। आईपिएलमा २०१८ यता लगातार सहभागी जनाउदै आएका मुजिबले १६ खेल खेल्ने क्रममा १७ विकेट हात पारिसकेका छन्। किङ्ग्स-११ पन्जाबको प्रतिनिधित्व गरिरहेका उनले टिमको खराब बलिंग प्रदर्शनका कारण अन्तिम-११ मा स्थान पाउन धेरै समय प्रतिक्षा गर्नुनपर्ने देखिन्छ। पन्जाबले विदेशी खेलाडीको रुपमा निकोलस पुरन, ग्लेन म्याक्सवेल, शेल्डन कटरेल, जिम्मी निशम, क्रिस जोर्डन जस्ता खेलाडीलाई मौका दिईरहेको छ। अधिकांश विदेशी खेलाडीहरुको प्रदर्शन खास नरहँदा मुजिबले मौका पाउने सम्भावना बढी रहेको हो।
५. अजिंके रहाने
दिल्ली क्यापिटल्सका ब्याट्सम्यान रहाने दिल्लीले खेलेको ५ खेलमा मौका पाएका छैनन्। भारतको लागि ६५ टेस्ट,९० वानडे र २० टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका दायाँ हाते ब्याट्सम्यानले लिगमा १४० खेल खेलीसकेका छन्। त्यस क्रममा उनले ३२.९३ को औसतमा ३८२० रन बनाइसकेका छन् जसमा २ शतक र २७ अर्धशतक सामेल छ। राजस्थान रोयाल्सको कप्तानी समेत गरिसकेका उनले गत सिजन ३९३ रन बनाएका थिए। टिममा ओपनरको रुपमा शिखर धवन र पृथवी श रहेका कारण ३२ वर्षीय अनुभवी खेलाडीले मौका पाएका छैनन्। धवन, पृथ्वी, श्रेयस ऐयर र रिशभ पन्तले माथिल्लो क्रममा स्थान पक्का गर्दा रहानेको प्रतीक्षा लम्बिएको छ।
६. सन्दिप लामिछाने (दिल्ली क्यापिटल्स)
नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले दिल्लीले खेलेको ५ खेलमा मौका पाएका छैनन्। २०१८ यता लिगमा सहभागी जनाउदै आएका उनले ९ खेलमा १३ विकेट लिएका छन्। आफ्नो धारिलो गुग्लीको लागि चिनिने सन्दिपले आईपीएल खेल्नु अघि करेबियन प्रिमियर लिगमा ११ खेलमा १२ विकेट लिएर राम्रो लय देखाएका थिए। टिममा भारतीय अनुभवी स्पिनरहरु रहेका कारण उनले मौका पाएका छैनन्। अर्कोतर्फ ४ जना विदेशी खेलाडीको रुपमा शिमरन हेटमायर, मार्कस स्टोइनिस, कागीसो रबाडा र एनरिक नोर्कियाले निरन्तर मौका पाएकाले पनि सन्दिपलाई ठाउँ खालि छैन।
भेट्रान लेग स्पिनर अमित मिश्रा चोटका कारण लिगबाट बाहिरिए पछि उनि एकमात्र लेग स्पिनरको रुपमा टिममा छन्। मिश्राको अनुपस्थितिमा सम्भावना बढेता पनि अर्का अनुभवी स्पिनर रभीचन्द्रन आश्विन र देब्रे हाते स्पिनर अक्षर पटेलको प्रदर्शन राम्रो रहीरहंदा सन्दिपले मौका पाउन अझै कुर्नुपरे देखिन्छ। ठुलो मैदान र स्पिनरलाई फाइदाजनक रहने मैदानमा उनले मौका पाउने सम्भावना उच्च रहेता पनि टिमको सम्मिश्रणका कारण उनले मौका नपाएका हुन्।
‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट
सहज थिएन स्टोक्सको युएई यात्रा
कोहली र ऐयर पछि स्मिथलाई पनि लगाइयो जरिवाना
IPL : पर्पल क्याप रेसमा रबाडालाई बुम्राहको प्रतिस्पर्धा, यस्तो छ अंकतालिकाको अवस्था