विकेटनेपाल, चैत्र १७ – शनिबार । धनगढीमा आज देखि सुरु भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत उद्घाटन खेलमा अमित श्रेष्ठले उत्कृस्ट ब्याटिंग गरेपछि काठमाण्डौ गोल्डेन्सले टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।
चौराहाले दिएको १४६ रनको लक्ष्य पछ्याएको काठमाण्डौले अमित श्रेष्ठले अविजित ८१ रनको पारि खेलेपछि ८ बल अगाबै जित हात पारेको थियो । उनले ६५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै टिमलाई जित दिलाउने क्रम मा नरेश बुढाऐरले बलरको माथिबाट छक्का प्रहार गरेका थिए । उनले १८ बलमा २४ रन प्रहार गर्दै अविजित रहे ।
चौराहाका सम्सेद शेखले २ विकेट लिन २१ रन खर्चिए भने १ विकेट सुनिल धमलाको नाममा रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको टिम चौराहा धनगढीले सुनिल धमलाको ६८ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । धमलाले ५७ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै शंकर रानाले ३१ बलमा ५ चौका सहित ३६ रन बनाउदै दोश्रो विकेटको लागि धमलासँग ७१ रनको साझेदारी गरेका थिए ।
काठमाण्डौका शाहब आलमले ह्याट्रिक सहित ३ विकेट लिने क्रममा ४ ओभरमा २३ रन खर्चिए भने रासिद खान, किशोर महतो र सन्नी पटेलले समान १/१ विकेट लिए ।
काठमाण्डौलाई जित दिलाउन महत्त्वपूर्ण पारि खेलेका अमित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।