प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेश र आर्मीले मधेश प्रदेशलाई पराजित गरेका हुन्।

पहिलो खेलमा आर्मीले मधेशमाथि १० विकेटको जित निकाल्यो। मधेशले दिएको २६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले २।५ ओभरमा कुनै विकेट नगुमाई २९ रन बनायो। आर्मीकी ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २२ रन बनाइन्। अञ्जली विश्वकर्मा चार रनमा अविजित रहिन्।

त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले १५।२ ओभरमा सबै विकेट गुमाउँदै २५ रन बनायो। मधेशका भूमि सिंहबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २१ बल खेलेका उनले दुई चौकासहित १० रन बनाइन्।

आर्मीकी आश्मा पुलामी मगरले सर्वाधिक तीन विकेट लिइन्। १।२ ओभर बलिङ गरेकी उनले चार रन मात्रै खर्चिइन्। यस्तै, मनीषा उपाध्याय र लक्ष्मी साउदको नाममा दुईरदुई र ईश्वरी विष्ट र सीता साहीको नाममा समान एक विकेट रह्यो।

अर्को खेलमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पार्‍यो। कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमतीले १२।१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो।

बागमतीकी ओपनर सबिका यादवले सर्वाधिक २० रन बनाइन्। २० बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। बिपशा शाही १२ रनमा अविजित रहिन्। अन्यको ब्याटिङ सम्झनयोग्य रहेन। कोशीका ज्योति दनुवार, रुबिना क्षेत्री र संगिता राईले समान दुई विकेट लिए। निशा शाहको नाममा एक विकेट रह्यो।

त्यसअघि ब्याटिङ थालेको कोशीले १३ ओभरमा ७ विकेट गुमाउँदै ६३ रन बनाएको थियो। खराब मौसमका कारण खेलको सात ओभर घटाइएको हो।

कोशीकी विमला मलाहले अविजित रहँदै सर्वाधिक १९ रन बनाइन्। २३ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। ओपनर तथा कप्तान रुबिनाले १५ रन बनाउँदा अन्यको प्रदर्शन उल्लेख्य रहेन।

बागमतीकी मनीषाले सर्वाधिक चार विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले एक मेडनसहित सात रन खर्चिइन्। पूजा साउद, बिपिशा र संस्कृति फूँयालको नाममा समान एक विकेट रह्यो।

जितसँगै दुवै टोलीले समान दुई अंक जोडेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy