काठमाडौं । नामिबियाले लगातार चौथो पटक टि२० विश्वकपमा स्थान बनाउँन सफल भएको छ ।
बिहीबार भएको विश्वकप अफ्रिका क्षेत्रीय छनोटको सेमिफाइनल खेलमा तान्जानियालाई ६३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएसँगै विश्वकपका लागि छनोट भएको हो । विश्वकपका लागि अफ्रिका क्षेत्रबाट दुई राष्ट्र छनोट हुनेमा नामिबियाले फाइनलमा पुगेसँगै स्थान पक्का गरेको हो ।
अफ्रिकाबाट दुई देश छनोट हुनेमा आजै हुने जिम्बाब्वे र केन्याबीचको विजेता दोस्रो देशका रुपमा रहनेछ । नामिबियाले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको तान्जानियाले १ सय ११ मात्र बनाउँन सक्यो ।
नामिबियासँगै आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि २० मध्ये १६ देशको स्थान पक्का भएको छ । नामिबियाले पहिलो पटक सन् २०२१ मा युएई र ओमानमा भएको टि२० विश्वकपमा पहिलो पटक सहभागीता जनाएको थियो ।
नामिबियाले त्यसपछि अस्ट्रेलियामा सन् २०२२ मा तथा अमेरिका र वेस्ट इण्डिजमा गत वर्ष आयोजना भएको विश्वकपमा सहभागीता जनाएको थियो । विश्वकपमा हालसम्म भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, अमेरिका, न्युजील्याण्ड, वेस्टइण्डिज, आयरल्याण्ड, दक्षिण अफ्रिका, क्यानडा, इटली, नेदरल्याण्ड्स, नामिबियाले स्थान पक्का गरिसकेका छन् ।
अब विश्वकपमा एसिया तथा पुर्वि एसिया प्यासेफिक छनोटबाट तीन देश छनोट हुन बाँकी रहेका छन् । छनोटमा नेपाल सहितका ९ राष्ट्रको सहभागीता रहनेछ । सहभागीबाट तीन राष्ट्रले विश्वकपमा अवसर पाउने छन् ।
एसिया तथा पुर्वि एसिया प्यासेफिक छनोट बुधबारबाट ओमानमा सुरु हुदैछ ।
