नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ।

यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ।

छनोटमा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। त्यसैको तयारीस्वरूप नेपालले दिल्लीसँग तीन अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जानकारी दिएको हो।

क्यानका अनुसार चैत १२ देखि १६ गतेसम्म हुने खेल पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालमा हुनेछ।

पहिलो खेल चैत १२, दोस्रो खेल चैत १४ र तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ। त्यसपछि यही टोलीले चैत २१ गतेदेखि अफगानिस्तानको यु–१९ टोलीसँग तीन खेलको सिरिज खेल्ने छ।

पहिलो खेल चैत २१, दोस्रो खेल चैत २४ र तेस्रो तथा अन्तिम खेल चैत २७ मा हुनेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्। क्यानले यसअघि नै नरेन भट्टलाई कप्तानी जिम्मेवारी सुम्पिसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy