अफगानिस्तानसंग पराजित हुँदै, टुंगियो नेपालको युथ एसिया कप यात्रा

  • विकेटनेपाल, मङ्सिर १ 

नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानीस्तान यु-१९ टिम मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

स्कोरकार्ड  अफगानिस्तानले आइतबार हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ। पाकिस्तानले सेमीफाइनलमा बंगलादेशलाई डी/एल मेथडको आधारमा २ रनले पराजित गरेको थियो।

किनरारा ओभल मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा नेपाललाई अफगानिस्तानले टस जितेर ब्याटिंग गर्ने निम्तो दिएको थियो। नेपालले कमजोर ब्याटिंग प्रदर्शन गरेपछि १०३ रनमै सबै विकेट गुमाएको थियो। उक्त लक्ष अफगानिस्तानले २०.३ ओभरमा नै मात्र ३ विकेट गुमाएर पुरा गरेको हो।

लक्ष पछ्याउने क्रममा अफगानिस्तान ब्याट्सम्यान रह्मानुल्लाह गुर्बजले सर्बाधिक ७१ रन प्रहार गरेका थिए जुन क्रममा उनले २ छक्का र ९ चौका प्रहार गरे। यस अघि नेपाललाई सस्तोमै समेट्न एक्लैले ६ विकेट लिएका मुजिब उर् रहमान खेलको म्यान अफ द म्याच चुनिए।

मुजिब खेलको म्यान अफ द म्याच चुनिए l फोटो – अफगानिस्तान क्रिकेट बोर्ड

प्रतियोगितामा नेपालले समुह चरणको खेलमा भारतलाई १९ रनले तथा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। बंगलादेशसंग भने २ विकेटको झिनो अन्तरले पराजित भएको नेपाल समुह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गरेको थियो र सुरुवात देखि लगातार विकेट गुमायो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल शाहले ५० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान विकेटमा जम्न सकेनन्। उनले ५७ बलमा ७ चौका र १ छक्का प्रहर गर्ने क्रममा आत्मविश्वासले भरिएको ब्याटिंग प्रस्तुत गरेका थिए।

अनिल शाहले अर्धशतक प्रहार गरे

ओपनर जितेन्द्र सिंह ठकुरी १, आसिफ शेख ० , कप्तान दिपेन्द्र ऐरी ६, रोहित पौडेल ४, भिम शर्की ६ रनमा पेभेलियन फर्किए। यस्तै कमल सिंह ऐरी ० , किशोर महतो ० तथा सन्दिप लामिछाने ७ रनमा आउट हुँदा शाहब आलमले अविजित ७ रन बनाए।

नेपाललाई सस्तोमा समेट्न अफगानिस्तान बलर मुजिब उर् रहमानले ६ विकेट हात पारे। उनले १० ओभरको स्पेलमा २ मेडनओभर सहित मात्र २८ रन खर्चे। त्यस क्रममा उनले नेपालको नम्बर १ देखि ५ सम्मको ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। यस्तै अहमद कमवालले २ विकेट हात पारे भने २ जना ब्याट्सम्यान रनआउट हुनपुगे।

बलिंगतर्फ नेपालको लागि कमल सिंह ऐरी, सन्दिप लामिछाने र पवन सर्राफले समान १/१ विकेट हात पारे।

 

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy