नेपाल प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दुई खेलमा काठमाडौँ गुर्खाज र बिराटनगर किंग्स विजयी भएका छन्। दुवै टिमको यो पहिलो जित हो।
आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।
काठमाडौँका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । सुमित प्लेयर अफ द म्याच घोषित भए। यस्तै गेरहार्ड इरास्मसले ३८, करन केसीले २९ तथा माइकल लेभिटले २२ रन बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। उसको लागि भारतीय खेलाडी शिखर धवनले ७२ रन योगदान दिए जुन क्रममा उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। काठमाडौँको बलिंगमा गेरहार्ड इरास्मसले २ विकेट लिए भने करन केसी, नाथन सोटर र दिपेश कंडेलले १/१ विकेट लिए।
आजको दोश्रो खेलमा बिराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्यो।
विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।
विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए ।
सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौँ बलमा लगातार चौका हाने । सोलले ४ बलमा अविजित १४ रन बनाए । दिपक बोहरा ९ रनमा अविजित रहे ।
विराटनगरको जितको आधार खडा गरेका ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै बसिर अहमदले २३ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ४० रन योगदान गरे ।
मार्टिन गप्टिलले १७ बलमा ६ चौका प्रहार गर्दै २८ रन बनाए । लोकेश र गप्टिलले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । यस्तै लोकेशले पाँचौँ विकेटका लागि बसिरसँग ८७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । जुन खेलको जितमा आधार बनेको थियो ।
बलिङमन लुम्बिनीका लागि दुरग्श गुप्ताले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै साद विन जफर र रामोन सिमोण्ड्सले २(२ विकेट लिए । सादले ३५ तथा सिमोण्ड्सले ३३ रन खर्चिए । सबैभन्दा महँगा बनेका विवेकले ३।५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । विराटनगरले चेस गर्नुअघि जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो । तर विराटनगरले त्यसलाई पनि तोड्दै जित निकाल्यो ।
लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अर्धशतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।
यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरेका थिए । यो जोडी ब्याटिङ गरिहरँदा २०० स्कोर कट्ने जस्तो देखिएको थियो । तर राजेश पुलामीले साझेदारी ब्रेक गरेपछि विराटनगरले बलिङमा पुनरागमन गरेको थियो ।
तैपनि विवेक यादवलेकेमियो इनिङ्स खेल्दै ७ बलमा अविजित १९ रन बनाएपछि लुम्बिनीले लिगकै उच्च स्कोर बनाएको हो । विवेकले ३ छक्का प्रहार गरे ।
यसैगरी अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए ।अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए । सन्दीपले जार लिगमा तेस्रो खेलमा आएर पहिलो विकेट लिएका हुन् । लुम्बिनीमा चार खेलाडी रनआउटको शिकार बनेका थिए ।