फर्गुसनको कीर्तिमानी बलिङमा न्युजिल्यान्डले पीएजीलाई हरायो

२०८१ असार ५, मंगलवार ०७:०४

काठमाडौं । तीव्र गतिका बलर लोकी फर्गुसनको कीर्तिमानी बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि-२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ ।

वेस्ट इन्डिजमा रहेको ट्रिनिडाडमा भएको आफ्नो समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्ड ७ विकेटले विजयी भयो ।

पीएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्यान्डका लागि ओपनर डेभोन कन्वेले ३२ बलमा ३५ तथा ड्यारियल मिचेलले १२ बलमा १९ रन बनाए ।

पीएनजीका लागि कबु मोरियाले दुई तथा सिमु कमियाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले १९ दशमलब ४ ओभरमा ७८ रनमा अल आउट गर्यो ।

पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन जोडे । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी पुरुष टि-२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बने । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोधीले समान एक एक विकेट लिए ।

समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती तीन खेल जित्दै सुपर एटमा प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले चार खेलमा चार अंक जोड्यो । युगान्डाले दुई अंक जोड्दा पिएनजी अंकविहिन रह्यो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy