रुपन्देही सुपर लिग: प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब विजयी

२०७४ फाल्गुन १३, आईतवार १७:३०

  • विकेटनेपाल, फाल्गुन १३ – भैरहवा

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (सि) को खेलमा प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवालाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको प्रोफेसनल मास्टर्स–११ ले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ३ सय २८ रनको योगफल तयार गरेको थियो । उसका लागि बादल छन्त्यालले सर्वाधिक ७७, आदित्य क्रिपाठीले ७०, मोहम्मद इबराइनले ६१ र दुर्गा सेनले नटआउट २८ रनको योगदान दिए । बलिङमा एपेक्स तिरुपतिका नविन भट्टराईले ३ र आयुष पाण्डेले २ विकेट लिए ।

प्रतिउत्तरमा ३ सय २९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको एपेक्स तिरुपतिले निर्धारित खेलमा २९ ओभर ५ बल खेल्दै जम्मा १ सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि अमित कौशिल्याले २३ र सुशान्त अर्यालले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गर्दा टिमले नराम्रोसँग हार व्यहोर्यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा प्रोफेसनल मास्टर्स–११ का बादल छन्त्याल र पुरुषोत्तम भट्टराईले ३/३ तथा दुर्गा सेन, शैलेश श्रीवास्तव र बले थापाले १/१ विकेट लिए । खेलमा प्रोफेसनल मास्टर्स–११ का बादल छन्त्याल म्यान अफ द म्याच घोषित भएको संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

सोमबार समूह (बि) मा रहेका साई ग्लोबल क्रिकेट क्लब भैरहवा र वेष्टर्न क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने खेल छ। प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy