काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ ।
चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु आईपिएलको प्लेअफमा पुग्न सफल भएसँगै प्लेअफ पुग्ने चार टोलीको टुगों लागेको हो । प्लेअफमा कोलकाता नाईटराईडर्स, राजस्थान रोयल्स तथा सनराईजर्स हैदराबादले प्लेअफमा स्थान पक्का गरिसकेका थिए ।
लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाईमाथि २७ रनको जित दर्ता गर्दै बेंगलुरु प्लेअफका लागि छनोट भएको हो ।
बेंगलुरुले लगातार ६ खेल जित्दै अंक तालिकाको चौथो स्थानमा रहन सफल भयो ।
बेंगलुरुले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
चेन्नाईका लागि ओपनर रचिन रवीन्द्रले ३७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । रवीन्द्र जडेजा २२ बलमा ४२ रन बनाएर अविजित रहे । अजिङ्क्या राहानेले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए ।
बेंगलुरुका लागि यश दयालले २ तथा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।
बेंगलुरुका लागि कप्तान फाफ डु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन बनाए । रजत पाटिदारले २३ बलमा ४१ रन बनाए । क्यामरन ग्रीन १७ बलमा ३८ रन बनाएर नटआउट । ग्लेन म्याक्सवेलले १६ तथा दिनेश कार्तिकले १४ रन बनाए ।
चेन्नाईका लागि शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल स्यान्टनरले १/१ विकेट लिए ।
बुधबार ईलिमिनेटरमा बेंगलुरुले तेस्रो स्थानमा रहने टोलीसँग भिड्ने छन् । सो खेलको विजेताले क्वालिफायर १ मा हार बेहोर्ने टोली विरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।