राष्ट्रिय क्रिकेटर समेत रहेका प्रदिप ऐरीले शतक प्रहार गर्दा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी क्रिकेट लिगमा अभानी क्रिकेट क्लबले साउथ वेस्ट स्ट्राइकर्स विरुद्ध ७६ रनको जित दर्ता गरेको छ।
स्प्रिंगफिल्ड पार्क मैदानमा अभानी क्रिकेट क्लबले दिएको २६३ रनको विशाल लक्ष्य पछ्याएको साउथ वेस्टले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो। साउथ वेस्टका उस्मान गुलले सर्वाधिक ४७ रन बनाए।
अभानीको बलिंगमा संजय पाण्डे, सन्तोष घिमिरे र मदन लामाले समान २ विकेट लिए। राष्ट्रिय क्रिकेटरद्वय जितेन्द्र मुखिया र अविनाश कर्णले १/१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको अभानी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २६२ रनको विशाल योगफल तयार गर्यो।
अभानीको लागि चौंथो नम्बरमा ब्याटिंग गरेका प्रदिप ऐरीले प्रतियोगितामा दोश्रो शतक बनाउने क्रममा १०४ रन बनाए। उनले मात्र ३६ बलमा ८ चौका र १० छक्का प्रहार गरे। शतकको क्रममा ऐरीले सातौँ ओभरमा कोरिश हसनेनको एकै ओभरमा लगातार दोश्रो देखि छैठौं बलमा ५ वटा छक्का प्रहार प्रहार गरेका थिए। अभानीका अन्य ब्याटरमा अमुल रावलले २९, मदन लामाले २८, माधव प्रसाईले २१ रन बनाए। साउथ वेस्टको बलिंगमा सयद हसनले ४ विकेट लिए।
जितको बाबजुद लिग चरणको अन्तिम खेल खेलेको अभानी अघिल्लो चरण पुग्न भने असफल रह्यो।
खेल समाप्त भएपछि अभानीको प्रतिनिधित्व गरेका टिमका सबै खेलाडीहरुलाई अभानी रियल स्टेटका अध्यक्ष संजय पाण्डेले स्तरीय ब्याट प्रदान गर्दै हौसला प्रदान गरेका थिए।
लिगमा अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र अस्ट्रेलियाका बिभिन्न समुदायका कुल ३२ टिम सहभागी रहेका छन्।