श्रीलंकामाथी बंगलादेशको जित

२०८१ जेष्ठ २६, शनिबार ०९:५४

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको पन्ध्रौं खेलमा बंगलादेशले श्रीलंकामाथि जित निकालेको छ ।

अमेरिकाको डालसमा प्रतियोगिताको पहिलो खेलमा नै जित निकाल्ने क्रममा बंगलादेशले २ विकेटको जित हात पारेको हो ।

श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ औं ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका लागि टोहिद हृदयले २० बलमा १ चौका र ४ छक्काको सहयोगमा ४० रन बनाए । लिन्टन दासले ३८ बलमा ३६ रन बनाए ।

श्रीलंकाका लागि नुवान तुषाराले चार तथा वानिन्दु हशरंगाले दुई विकेट लिए । मथिशा मथिराना र धनन्जय डा शिल्भाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

श्रीलंकाका लागि ओपनर पथुम निशंकाले २८ बलमा ४७ तथा धनन्जय डा शिल्भाले २६ बलमा २१ रन बनाए ।

बंगलादेशका लागि रिशद होसेन र मुस्ताफिजुर रहमानले समान तीन तीन तथा तस्कीन अहमदले दुई विकेट लिए ।

पहिलो खेलमा जितसँगै बंगलादेश दुई अंकका साथ समूह डी को तेस्रो स्थानमा छ । दुई खेलमा अंक बिहीन श्रीलंका समूह डी मा पाँचौ स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy