युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा चौथो संस्करणको ‘अबु धाबी टि-१० लिग’सुरु भएको छ। लिगको उद्घाटन खेलमा नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम डिफेन्डिङ च्याम्पियन मराठा अरबियन्सले रोमान्चक खेल जित्दै विजयी सुरुवात गरेको छ।
शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा नर्थर्न वारियर्सले दिएको १२८ रनको लक्ष्य मराठाले अन्तिम बलमा भेटायो।
जितको लागि २ ओभरमा १२ रन आवस्यक रहंदा नवौं ओभरमा रायद इम्रिटले मात्र ३ रन खर्चेर २ विकेट लिएपछि मराठा दबाबमा आएको थियो। अन्तिम ओभरमा ६ बलमा ८ रन आवस्यक रहंदा वायन पर्नेलले पहिलो ४ बलमा मात्र ३ रन खर्चिंदा २ बलमा जित्न ५ रन आवस्यक थियो। पाँचौ र छैठौ बलमा मोसद्देक हुसेनले लगातार चौका प्रहार गर्दै टिमलाई जित दिलाए।
मराठाको जित दिलाउन युएई राष्ट्रिय क्रिकेटर समेत रहेका अब्दुल शाकुरले विस्फोटक ब्याटिंग गरे। दायाँ हाते ब्याट्सम्यानले मात्र २८ बलमा ५ छक्का र ७ चौका मद्दतले ७३ रन बनाए। मोहम्मद हफिजले ८ बलमा १९ रन योगदान दिए। मोसद्देक हुसेनले अविजित ९ रन बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको नर्थर्न वरियर्सले १० ओभरमा २ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसको लागि ओपनर लेन्डल सिमोन्सले अविजित अर्धशतकीय इनिंग्स खेल्ने क्रममा ३१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए। यस्तै अर्का ओपनर ब्रेण्डन किंगले १३ बलमा २९ रन कप्तान निकोलस पुरनले ९ बलमा १९ रन तथा रोभम्यान पावेलले ७ बलमा २२ रन बनाए।
मराठाको बलिंगमा एक मात्र विकेट मुख्तर अलिले लिए जसले २ ओभरमा १९ रन खर्चिए। अर्को विकेट रन आउटबाट प्राप्त गरेको थियो। नेपाली फास्ट बलर सोमपाल कामि २ ओभरमा २८ रन खर्चेर विकेटविहिन रहे।
सोमपालको बलिंग प्रदर्शन
पहिलो र दशौँ ओभरमा बलिंग गरेका नेपाली फास्ट बलरले २ ओभरमा २८ रन खर्चिए। पहिलो ओभरमा उत्कृस्ट सुरुवात गर्ने क्रममा सोमपालले मात्र ८ रन खर्चिएका थिए। दोश्रो ओभरमा महँगो सावित हुने क्रममा उनले २० रन खर्चिए।
पहिलो ओभर – ८ रन ( ० , २ , ६ , ० , ० , ० ) : ओपनिंग बलिंग गर्न आएका सोमपालले ओभरको सुरुवात राम्रो गरे। पहिलो बलमा रन नखर्चेका सोमपालले दोश्रो बलमा विकेटको अवसर सिर्जना गरेका थिए। ब्रेण्डन किंगले पुल गर्न खोज्दा ब्याटको टप एज लागेको थियो तर फिल्डरले मिड-विकेटमा क्याच छुटाउन पुग्दा सोमपाल पहिलो विकेट लिन असफल रहे। तेश्रो बलमा किंगले सोमपालले गरेको सर्टबलमा लंगनमा छक्का हिर्काए। त्यसपछि सोमपालले ओभरमा उत्कृस्ट पुनरागमन गरे र लगातार ३ बलमा ब्रेण्डनले कुनै पनि रन बनाउन सकेनन्।
दोश्रो ओभर – २० रन ( ४ , ३ , ४ , १ , १ , वाइड , छक्का ) : पहिलो ओभर पछि सोमपाललाई अन्तिम ओभरमा बलिंगमा ल्याइएयो। ओभरको पहिलो बलमा सिमोन्सले सोमपालको सर्ट बललाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। दोश्रो बलमा सोमपालले गति परिवर्तन गर्दै गरेको फुल टसबलमा भित्रि किनारा लाग्दा सिमोन्सले ३ रन लिए। तेश्रो बलमा रोभम्यान पावेले चौका हिर्काए। काउ कर्नरमा फिल्डरले गल्ति गर्दा चौका प्रहार भयो। चौथो बलमा सोमपालको योरकरमा रोभम्यान पावेलले १ रन लिए। पाँचौ बलमा सोमपालले पुनः १ रन मात्र खर्चिए। अन्तिम बलमा सोमपालले वाइड बल गरे जसपछिको बलमा उनलाई पावेलले डिप मिडविकेटमा छक्का प्रहार गरे। बाउन्ड्रीमा फिल्डरको थोरै माथि बाट छक्का प्रहार भयो।