आइसिसी विश्वकप लिग टुमा अमेरिकाले लगातार तेस्रो जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै अमेरिकाले आफ्नो जितको लयलाई निरन्तरता दिएको हो ।
पहिलो खेलमा नामिबियालाई नै पराजित गरेको अमेरिकाले दोस्रो खेलमा युएईमाथि जित हात पारेको थियो ।
आइतवार भएको खेलमा नामिबियाले दिएको २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकालाई सहज जित निकाल्नेक्रममा आन्द्रेस गौस, साइतेजा मुककामल्ला र मिलान्ड कुमारले अर्धशतक बनाए । गौसले ६८ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ८१ रन जोड्दा मुककामल्लाले ७४ बलमा नट आउट ७९ र मिलान्डले ६६ बलमा नट आउट ७४ रन बनाए ।
कप्तान मोनाकं पटलले ४३ बलमा ३१ तथा ओपनर स्मिथ पटेलले १९ बलमा ९ रन जोडे ।
नामिबियाका लागि जान निकोल लेफ्टी इटन, पीटर डैनियल ब्लिगनौट र डाइलन लीचरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो ।
नामिबियाका लागि माइकल भान लिगेन र जेजे स्मिटले अर्धशतक बनाएका थिए ।
लिगेनले ४४ बलमा सर्वाधिक ६७ तथा स्मिटले ८४ बलमा ६० रन जोडे । लेफ्टी इटनले ४७ बलमा ४९ तथा डाइलन लीचरले ३२ रन जोडे ।
अमेरिकाका लागि शाड्ली भानले ४ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिकेले समान १ विकेट लिए ।
जितसँगै अमेरिका ७ खेलमा ५ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित नामिबिया ११ खेलमा ८ अंकका साथ पाँचौ स्थानमा छ ।
क्यानडामा लगातार तेस्रो हार निकालेको नेपालको ७ खेलबाट २ अंक अंक छ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।