अम्पाएर कप क्रिकेटमा सप्तरी सुपरको बिजयी शुरुवात

२०७४ माघ ३, बुधबार ०९:५८

  • विकेटनेपाल, २ माघ, राजबिराज ।

राजबिराजको राजरंगशालामा मंगलवारदेखि शुरु भएको अम्पाएर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सप्तरी सुपर किंग राजबिराजले योंग ११ क्रिकेट क्लब बरही बिरपुरलाई रोमान्चक खेलमा १३ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको छ।

हुस्सुका कारणले केही ढिलो शुरुवात भएको प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा सप्तरी सुपर किंगले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ३० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई १ सय २६ रनको योगफल तयार पारेको थियो।

सुपर किंगका लागि अमित दासले आर्कषक ब्याटिंग गर्दै ६६ बलमा ६ चौक्का र १ चौक्काको मद्धतले ४८ रनको योगदान दिएका थिए । अमित बाहेक प्रवेश खडगी १८, मनिश मण्डल १५ तथा सिमान्तराज राईले १२ रनको योगदान दिएका थिए । बलिंगतर्फ योंग ११ का संजिव यादवले घातक बलिंग गर्दै ४ ओभरको स्पेलमा १७ रन दिई ४ बिकेट लिएका थिए भने रेवती राय ३ तथा रवी राय र बिकी रायले सामान २ विकेट लिएका थिए ।

१ सय २७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको योंग ११ सुपर किंगका बलर सामु निरिह हुदै १९ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय १३ रनमै समेटिएको थियो । योंग ११ का लागि गुनानन्द रायले २८, रवी राय १९ तथा रेवती रायले १० रनको योगदान दिएका थिए । बलिंगतर्फ सुपर किंगका अभय थापा ३, प्रमोद रजक र पंकज साहले सामान २ तथा मनिश मण्डल र राज रायले सामान १ बिकेट लिएका थिए। उत्कृष्ट ब्याटिंग गरे वापत सप्तरी सुपर किंगका अमित दास म्यान अफ द म्याच घोषित भएका थिए ।

सप्तरी क्रिकेट संघसंगको सहकार्यमा अम्पाएर संघको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत मंगलवार बिहानै भएको उदघाटन कार्यक्रम अन्तर्गत कार्यक्रमको प्रमुख अतिथी शिब्स ईन्टरनेश्नलका नरेश प्रताप साहले बलिंग, बिशिष्ट अतिथीको रुपमा सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीले ब्याटिंग तथा अम्पाएर संघका अध्यक्ष निरज सिंहले किपिंग गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए।

उदघाटन क्रममै सप्तरी क्रिकेट संघका संस्थापक सदस्य तथा जिल्ला खेलकुद बिकास समिति समितिका पुर्व अध्यक्ष शशि माझीको सम्झनामा १ मिनेटको मौन धारण राख्नुका साथै सवै खेलाडि तथा अफिसियलहरुले कालो पटी बाधि खेलेका थिए । कार्यक्रममा सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, पुर्व क्रिकेटर दिपेन्द्र चौधरी, शैलेन्द्र खडका, रोशन चौधरी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन बरिष्ठ खेलाडि सुरेन्द्र नाथ सिंहले गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधवार युथ क्रिकेट एकेडेमी र लायन्स क्रिकेट एकेडेमी बिच हुने जानकारी अम्पाएर संघका सदस्य शम्भु दासले जानकारी गराउनु भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy